रास्वपा महाधिवे‍शन: सभापति पदका लागि ५१ हजार र ५१ समर्थक अनिवार्य, अरु पदमा कति ?


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ । केन्द्रीय निर्वाचन आयोगले सभापति, पदाधिकारी तथा केन्द्रीय सदस्य पदका उम्मेदवारका लागि आवश्यक शुल्क, प्रस्तावक, समर्थक र आवश्यक कागजातबारे विस्तृत सूचना सार्वजनिक गरेको छ ।

निर्वाचन आयोगका अनुसार सभापति पदमा उम्मेदवारी दिन ५१ हजार रुपैयाँ शुल्क, एक जना प्रस्तावक र ५१ जना समर्थकको नाम, सम्पर्क नम्बर तथा हस्ताक्षर अनिवार्य गरेको छ ।

त्यसैगरी, पदाधिकारी पदका लागि ४१ हजार रुपैयाँ उम्मेदवारी शुल्क, एक जना प्रस्तावक र २१ जना समर्थक जुटाउनुपर्नेछ । केन्द्रीय सदस्य पदका उम्मेदवारका लागि २१ हजार रुपैयाँ शुल्क, एक जना प्रस्तावक र २१ जना समर्थक अनिवार्य गरिएको छ ।

उम्मेदवारी दर्ताका लागि विवरण भरिएको मनोनयन फाराम, उम्मेदवारी शुल्क बुझाएको नगदी रसिद वा बैंक भौचर, अनुशासन कारबाहीमा नपरेको स्वघोषणापत्र, पार्टी सदस्यता प्रमाणपत्रको प्रतिलिपि तथा दुई प्रति पासपोर्ट साइज फोटो पेश गर्नुपर्ने निर्वाचन आयोगले जनाएको छ ।

महाधिवेशनअन्तर्गत पहिलो चरणमा एक जना सभापति र ९९ जना केन्द्रीय सदस्य चयन गरिनेछ। पहिलो चरणको निर्वाचन भोलि हुने तालिका छ ।

पहिलो चरणको मतपरिणाम सार्वजनिक भएपछि दोस्रो चरणअन्तर्गत पदाधिकारी चयनको निर्वाचन कार्यतालिका सार्वजनिक गरिने निर्वाचन आयोगले जनाएको छ ।

रास्वपाको पदाधिकारी संरचनामा सभापति, एक वरिष्ठ नेता, तीन उपसभापति (एक महिलासहित), दुई महामन्त्री, पाँच सहमहामन्त्री, एक कोषाध्यक्ष, दुई सहकोषाध्यक्ष र एक प्रवक्ता रहने व्यवस्था छ ।

सभापतिमा रवि लामिछाने र वरिष्ठ नेतामा प्रधानमन्त्री बालेन्द्र शाहलाई नै पुनः सर्वसम्मत रूपमा चयन गर्ने तयारी रहेको रास्वपा स्रोतले जानकारी दियो ।