म्याग्दी, १४ असार । नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकास भएको अन्नपूर्ण हिमालको आधार शिविर जोड्ने ‘मौरिस हर्जोग’ पदमार्गअन्र्तगत म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ स्थित हुमखोलामा झोलुङ्गे पुल निर्माण भएको छ ।
अन्नपूर्ण गाउँपालिकाले निर्माण गरेको ५७ मिटर लामो झोलुङ्गे पुलबाट स्थानीयका साथै मौरिस हर्जोग पदमार्ग भ्रमणमा आउने पर्यटक लाभान्वित भएका छन् । अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष दिवा तिलिजा पुनले नयाँ पुल निर्माण भएपछि काठको फल्याक राखिएको, हल्लिने पुलमा जोखिम मोलेर अन्नपूर्ण खोला वारपार गर्नुपर्ने समस्या अन्त्य भएको बताए ।
“यसअघि एक पटकमा एकदेखि दुई जना मात्र पालो गरेर खोला तर्नुपर्ने समस्या थियो”, उपाध्यक्ष पुनले भने, “झोलुङ्गे पुल बनेपछि पदयात्री, पर्यटक र स्थानीयवासीलाई आलोपालो गरेर खोला तर्नुपर्ने बाध्यता हटेको छ ।”
पर्यटकबाहेक नारच्याङका ५४९ परिवार पुल बनेपछि प्रत्यक्ष रूपमा लाभान्वित भएका छन् । पुल निर्माणका लागि एक हजार २२१ जनालाई प्रत्यक्ष रोजगारी सिर्जना भएको उनले जानकारी दिए ।
सङ्घीय सरकारले रु १३ लाख ८२ हजार ७९५ ससर्त अनुदान र रु एक लाख ८९ हजार ६९३ बराबरको निर्माण सामग्रीसहित अन्नपूर्ण गाउँपालिकाले रु १३ लाख ७४ हजार ४०० अनुदान र उपभोक्ताले रु ७३ लाख ८८० बराबरको श्रमदान गरेका अन्नपूर्ण गाउँपालिकाका सबइञ्जिनियर बालकृष्ण पौडेलले जानकारी दिए ।
उनका अनुसार गैरसरकारी संस्था मिलन म्याग्दीको प्राविधिक र सामाजिक परिचालन सहयोगमा पुल निर्माण भएको हो । पदमार्गका अन्य ठाउँमा पनि झोलुङ्गे पुल बनाउन सङ्घीय र प्रदेश सरकारसँग समन्वय गरिएको गाउँपालिकाका उपाध्यक्ष पुनले बताए । नारच्याङबाट दुई घण्टा सवारीमार्फत यात्रा गरेपछि पुगिने हुमखोलाबाट अन्नपूर्ण आधार शिविरको पदयात्रा सुरु हुन्छ ।
अन्नपूर्ण र नीलगिरि हिमालको फेदीबाट बग्ने मिस्त्रीखोलाको किनारैकिनार अग्ला झरना, मनमोहक हिमशृङ्खला, अनौठो भूगोल, पहाड, दूर्लभ वनस्पति, वन्यजन्तुको अवलोकन गर्दै आधार शिविर पुग्न सकिन्छ । दुई दिनमा आधार शिविर पुग्न र तेस्रो दिन फर्कन सकिन्छ । नीलगिरि र अन्नपूर्ण हिमालको फेदीमा रहेको आधार शिविर समथर फाँटमा छ । आधार शिविर मुनि समुन्द्री सतहबाट चार हजार ५० मिटर उचाइमा पञ्चकुण्ड ताल पर्दछ ।
आधार शिविरको डाँडामा बसेर ताल र हिमाल अवलोकन गर्न सकिन्छ । एक लाख सात हजार ६८४ वर्गमिटर क्षेत्रफलमा फैलिएको ताल अन्नपूर्ण हिमालको हिउँ पग्लिएर आउने पानी सङ्कलन भएर बनेको प्राकृतिक हिमताल हो । अन्नपूर्ण हिमाल र पञ्चकुण्ड ताललाई एकै पटक अवलोकन गर्न पाउनु अन्नपूर्ण आधार शिविरको मुख्य विशेषता भएको मौरिस हर्जोग पदमार्गका अभियन्ता तेज गुरुङले बताए।



प्रतिक्रिया