बालेनसँग मिल्ने हर्कको संकेत, विरोध गर्न छाडिदिने?


काठमाडौं, असार १४ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन शाहसँग मिल्ने संकेत गरेका छन् । पछिल्लो समय निरन्तर संसद र फेसबुकमा बालेनको विरोग गर्दै आएका हर्कले नेकपा (एमाले)का अध्यक्ष केपी ओली र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डबीच हुनसक्ने सम्भावित सहकार्यलाई लिएर उनले यस्तो संकेत गरेका हुन् ।

आज ओली र प्रचण्डले लामो समयको तिक्ततापछि एउटै मञ्चमा उभिएर सहकार्यको सुरुआत गर्ने विचार सार्वजनिक गरेपछि हर्कले आफू र प्रधानमन्त्री बालेन शाह मिले जनताले कतिको अचम्म मान्लान् भन्दै जिज्ञासा राखेका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘प्रचण्ड र केपी ओली मिल्दा अचम्म नमान्ने जनताले हर्क साम्पाङ र बालेन मिले भन्ने खबर आए कतिको अचम्म मान्लान् त?’

प्रतिनिधिसभाका पछिल्ला बैठकमा जब बैठक सुरु हुन्छ तब हर्क कहिले पर्चा र प्ले कार्ड देखाउँछन् । कहिले ती प्ले कार्डमा लेखिएका नारा पढ्छन् । कहिले सभामुखसँग समय नै नमागेर सरकारलाई प्रश्न गर्दै आएका उनी प्रधानमन्त्री बालेन र बालेनको अभिव्यक्तिको विरोध गर्दै आएका छन् ।

सभामुख डोलप्रसाद अर्याल आफ्नो आसनबाट प्रतिनिधिसभा नियमावलीका नियम देखाउँछन् । संसदीय मर्यादा सम्झाउँछन् । तर, श्रम संस्कृति पार्टीका संसदीय दलका नेता समेत रहेका हर्क मान्दैनन् । सभामुखले माइक दिए पनि नदिए पनि आफ्ना कुरा राखेर सरकारको विरोध गर्दै आएका छन् ।