मापसे गरेका बुबाको बन्चरो प्रहारबाट छोरा गम्भीर घाइते


काठमाडौं, असार २८ । गुल्मीको इस्मा गाउँपालिका–२ खजुरेका ४८ वर्षीय नरबहादुर कुमाल ६८ वर्षीय बुबा टमबहादुर कुमालको बन्चरो प्रहारबाट गम्भीर घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माका अनुसार मादक पदार्थ सेवन गरेका टमबहादुरले घरायसी विवादका क्रममा धारिलो हतियार (बन्चरो) प्रहार गरेका हुन् ।

बन्चरो प्रहारबाट नरबहादुरको बायाँ कानमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ। उनलाई गुल्मी अस्पताल, तम्घासमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल, बुटवल रिफर गरिएको छ ।

घटनापछि फरार रहेका टमबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।