पहिरोले कुन–कुन सडकखण्ड छन् अवरुद्ध ?


काठमाडौं । निरन्तरको वर्षापछि आएको बाढी र पहिरोको कारण विभिन्न स्थानमा सडकखण्ड अवरुद्ध भएका छन् । वाग्मती, गण्डकी, लुम्बिनी र कर्णालीका विभिन्न स्थानमा पहिरो र बाढीले सडक अवरुद्ध भएका छन् ।

रामेछापको मन्थली नगरपालिका–६ हातिटारमा मन्थली–खुर्कोट सडकखण्ड पहिरोले अवरुद्ध भएको छ ।

मनाङको नासो गाउँपालिका–३ खोत्रोमा चामे बेसीसहर सडकखण्ड पहिरोले अवरुद्ध भएको छ ।

म्याग्दी रघुगंगा गाउँपालिका–२ बैसरीमा बेनी–जोमसोम सडकखण्ड पहिरो अवरुद्ध हुँदा सवारीसाधन सञ्चालन हुन सकेका छैनन् ।

म्याग्दीकै अन्नपूर्ण गाउँपालिका–३ सुकेबगर–बेनी–जोमसोम सडकमा पनि पहिरो गएको छ । यस्तै विभिन्न सडकखण्डमा पहिरो जाँदा सवारी सञ्चालनमा रोक लगाइएको प्रहरीले जनाएको छ ।