सुदूरपश्चिम सरकारमा बजेट किचलो


धनगढी । सुदूरपश्चिम प्रदेश सरकारभित्रको बजेट विवाद उत्कर्षमा पुगेको छ। सत्ता साझेदार दल नेकपा एमालेले आफ्नै सरकारको बजेटविरुद्ध प्रदेशसभामा खर्च कटौती प्रस्ताव दर्ता गरेपछि मुख्यमन्त्री कमलबहादुर शाह आक्रामक बनेका छन्। मुख्यमन्त्री शाहले खर्च कटौती प्रस्तावलाई सरकारप्रतिको अविश्वासको रूपमा व्याख्या गर्दै एमालेलाई आइतबार साँझसम्मको अल्टिमेटम दिएका छन्। उनले एमालेलाई कि त प्रस्ताव फिर्ता लिन, कि त सरकार छोड्न कडा सन्देश पठाएका छन्। ती दुवै विकल्पमा एमाले तयार नभए सरकारमा रहेका एमालेका मन्त्रीहरूलाई बर्खास्त गर्ने तयारी मुख्यमन्त्रीले गरेका छन्।

मुख्यमन्त्री शाहनिकट स्रोतका अनुसार एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलसँगको छलफलमा मुख्यमन्त्रीले आफ्नो अडान स्पष्ट पारिसकेका छन्। तर, नेता रावलले तत्काल कुनै निर्णय नगर्न र केन्द्रमा यसबारे छलफल भइरहेकाले नहतारिन मुख्यमन्त्रीलाई आग्रह गरेको बताइएको छ।

बजेटलाई लिएर सत्तापक्षभित्रै चलेको यो जुहारीले सुदूरपश्चिमको राजनीतिलाई तरंगित बनाएको छ।