काठमाडौँ । नेपाली शेयर बजार यतिबेला नीतिगत अन्योल र निराशाको भुमरीमा छ। बजार लगातार ओरालो लाग्दा लगानीकर्ताको मनोबल धर्मराएको छ भने धितोपत्र बोर्ड (सेबोन) घेराउ गर्नेदेखि सडक आन्दोलनसम्मका दृश्य सामान्य बन्न थालेका छन्। यही पृष्ठभूमिमा संसदीय अर्थ समितिमा धितोपत्र बोर्डका अध्यक्ष डा. गोपाल भट्टले एउटा यस्तो संयन्त्रको चर्चा गरे, जसले बजारमा नयाँ बहस छेडिदिएको छ– ‘सर्ट सेलिङ’।
अहिलेको नेपाली शेयर बजारमा लगानीकर्ताले नाफा कमाउने एउटै मात्र विकल्प छ- सस्तोमा किन्ने र महँगोमा बेच्ने, प्राविधिक भाषामा यसलाई ‘लङ पोजिसन’ भनिन्छ। तर, बजार घटिरहेका बेला यो संयन्त्र निकै पीडादायी साबित हुन्छ। यही चक्रलाई तोड्न र बजार जुनसुकै दिशामा हिँडे पनि लगानीकर्ताले कमाउन सक्ने वातावरण बनाउन सेबोनले ‘सर्ट सेलिङ’को कानुनी र प्राविधिक पूर्वाधार तयार पारिरहेको हो।
तर, के साँच्चै सर्ट सेलिङ जादुमयी छडी हो, जसले लगानीकर्तालाई कहिल्यै घाटा हुन दिँदैन ? यसको भित्री चुरो कुरो बुझौँः
सर्ट सेलिङ भनेको आफूसँग नभएको शेयर सापटी लिएर बजारमा बेच्ने र मूल्य घटेपछि पुनः किनेर फिर्ता गर्ने विशेष व्यापारिक रणनीति हो। यसमा कारोबारको स्थापित मान्यता (पहिले किन्ने, पछि बेच्ने) विपरीत हुन्छ।
जस्तोः लङ पोजिसनमा एउटा कम्पनीको शेयर रु. १,००० मा किनियो भने मूल्य बढेर रु. १,२०० पुग्यो भने प्रति कित्ता रु. २०० नाफा भयो। तर मूल्य घटेर रु. ८०० मा झर्यो भने रु. २०० घाटा भयो।
सर्ट सेलिङ (सर्ट पोजिसन)- मा लगानीकर्ताका रूपमा तपाईंलाई कुनै कम्पनीको मूल्य अब घट्छ भन्ने बलियो पूर्वानुमान छ। तपाईंले उक्त कम्पनीको शेयर (आफूसँग नभए पनि) मध्यस्थकर्तामार्फत सापटी लिएर तत्काल बजारमा मानौँ रु. १,००० मा बेचिदिनुहुन्छ। तपाईंको अनुमान सही सावित भयो र दुई महिनापछि सो शेयरको मूल्य रु. ८०० मा झर्यो। अब तपाईंले बजारबाट रु. ८०० मा सो शेयर किन्नुहुन्छ र जसबाट सापटी लिनुभएको हो, उसैलाई फिर्ता गरिदिनुहुन्छ। यहाँ तपाईंलाई बिना शेयर स्वामित्व प्रतिकित्ता रु. २०० खुद फाइदा हुन्छ।
संक्षेपमा भन्दा सर्ट सेलिङ भनेको बजारको गिरावटमाथि लगाइने बैध सट्टा हो।
यो संयन्त्रको सबैभन्दा ठूलो सबल पक्ष नै घट्दो बजारमा नाफा कमाउन सकिने अवसर हो। बजार मन्दीमा जाँदा पनि चलाख लगानीकर्ताले यसबाट निरन्तर कमाइ गरिरहन सक्छन्।
सर्ट सेलिङले बजारमा खरिद–बिक्रीको चापलाई पनि सन्तुलनमा राख्छ। यसले बजारलाई गतिहीन हुनबाट जोगाउँछ ।
यस्तै, कुनै कम्पनीको शेयरमा कृत्रिम उछाल ल्याउन खोजिएमा सर्ट सेलरहरूले त्यसलाई नियन्त्रण गर्छन्, जसले गर्दा शेयरको मूल्य अस्वाभाविक रूपमा बढ्न पाउँदैन।
बोर्डले यसलाई ‘घाटा नहुने संयन्त्र’ भनेर व्याख्या गरे तापनि अन्तर्राष्ट्रिय बजारको अनुभवले भन्छ कि सर्ट सेलिङ अत्यधिक जोखिमयुक्त हुन्छ।
साधारण खरिदमा (लङ पोजिसन) अधिकतम घाटा भनेको तपाईंले लगानी गरेको रकम शून्य हुनु मात्र हो अर्थात् रु. १,००० को शेयर बढीमा शून्य बन्ला। तर, सर्ट सेलिङमा घाटाको सीमा असीमित हुन्छ।
मानौँ, तपाईंले प्रतिकित्ता रु. १,००० मा सापटी लिएर बेचेको शेयरको मूल्य घट्नुको सट्टा बढेर रु. १५०० वा रु. २००० पुग्यो भने तपाईंले जतिसुकै महँगो मूल्यमा भए पनि बजारबाट किनेर सापटी फिर्ता गर्नैपर्छ। अब सापटी फिर्ता गर्न प्रतिकित्ता रु. १५०० वा २००० मै किन्नुपर्छ। यस अवस्थामा तपाईंको घाटाको कुनै सीमा हुँदैन। त्यसैले विश्वभर यसलाई ‘हाइ रिस्क हाइ गेम’ मानिन्छ।
धितोपत्र बोर्डका अधिकारीहरूका अनुसार नेपालमा यो प्रणाली लागू भइहाले पनि सुरुवाती चरणमा सबै कम्पनीमा उपलब्ध हुनेछैन। नेपालमा सूचीकृत २८९ भन्दा बढी कम्पनीमध्ये धेरैजसोको दैनिक कारोबार न्यून छ।
सर्ट सेलिङका लागि बलिया सूचकांकमा परेका, उच्च पुँजीकरण भएका, वित्तीय विवरण उत्कृष्ट भएका र दैनिक ठूलो परिमाणमा कारोबार हुने कम्पनीहरू मात्र योग्य हुन सक्छन्।
सारमा भन्दा सर्ट सेलिङ नेपाली पुँजीबजारलाई परिपक्व र अन्तर्राष्ट्रिय स्तरको बनाउने दिशामा एउटा स्वागतयोग्य फड्को हो। यसले बजार घट्दा हात बाँधेर बस्नुपर्ने लगानीकर्ताको बाध्यता अन्त्य गर्नेछ। तर, पर्याप्त कानुनी धरातल, कडा नियमन र लगानीकर्तामा प्राविधिक शिक्षाबिना यो संयन्त्र भित्र्याएमा यसले बजारलाई अझ बढी जोखिमपूर्ण बनाउन सक्छ। सेबोनले यसका छिद्रहरू बन्द गरेर मात्र यसलाई धरातलमा उतार्न आवश्यक देखिन्छ।



प्रतिक्रिया