श्रीलंकामा ‘हेन्ड्स अफ एसिया’ सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले के भने ?


काठमाडौ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले श्रीलंकामा आयोजित ‘हेन्ड्स अफ एसिया’ अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन सत्रलाई प्रमुख वक्ताका रूपमा सम्बोधन गरेका छन्।

सम्बोधनका क्रममा उनले एसियाली कम्युनिस्ट आन्दोलनका उपलब्धि, चुनौती र त्यसबाट सिकिएका पाठबारे विश्लेषण गर्दै बदलिँदो वैश्विक शक्ति सन्तुलनका बीच असंलग्नताको नीति र समाजवादी निर्माण उत्पीडित राष्ट्रहरूको साझा ऐतिहासिक आवश्यकता भएको धारणा राखे।

सम्मेलनमा श्रीलंकाका वातावरणमन्त्री डा. दम्मिका पाताबेन्दीले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)को ऋण कार्यक्रमका सर्तबीच जनपक्षीय विकासको वैकल्पिक मार्गबारे विचार व्यक्त गरे भने मार्क्सवादी लेखक तथा इतिहासकार विजय प्रसादले विश्वव्यापी सैन्यीकरण, सार्वभौम ऋण संकट र उग्र दक्षिणपन्थको उदयबारे विश्लेषण प्रस्तुत गरे।

तीन दिनसम्म सञ्चालन हुने सम्मेलनमा विभिन्न राजनीतिक तथा वैचारिक विषयमा छलफल हुनेछ। सम्मेलनका क्रममा प्रचण्डले एसियाका विभिन्न कम्युनिस्ट तथा वामपन्थी दलका नेताहरूसँग द्विपक्षीय र बहुपक्षीय भेटवार्ता गर्ने कार्यक्रम पनि रहेको छ।