हामीले धक्का खाएको हो, सिद्धिएको होइन :ओली


काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनावमा धक्का खाए पनि पार्टी नसिद्धिएको टिप्पणी गरेका छन् ।

शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा पार्टीको वेबसाइटको नवीन संस्करण सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आँधी, हुरी र तुफानसँग सामना गरेर एमाले अघि बढ्ने बताएका हुन् ।

‘हामीले धक्का खाएका छौँ । धक्का खाएको हो, सिद्धिएको होइन । हामी नवीकृत भएर अघि बढ्नेछौँ भन्ने कुराको सङ्केत यो हो,’ ओलीले भने ।

उनले एमाले आँधी, हुरी, तुफान, बाढी लगायत धेरैसँग सामना गर्दै आएको पार्टी भएको कसैलाई नसमाति अघि बढ्नै नसक्ने पार्टी हुन नसक्ने बताए ।

‘हामी यस्तो लहरो होइन, जसले अर्कालाई नसमातिकन उठ्नै सक्दैन । हामी एउटा स्वतन्त्र वृक्ष हौँ । दह्रो, मजबुत र विशाल वृक्ष हो । अरूको बलमा उभिएका पनि होइन । आफैँ हुर्किँदै, आँधी हुरी तुफान बाढी अनेक चिजहरूसँग सामना गरेर आएका छौँ ,’ ओलीले भने ।