बागमती सरकारबाट एमालेका मन्त्रीहरूले राजीनामा दिने


मकवानपुर । बागमती प्रदेश सरकारबाट नेकपा एमालेका मन्त्रीहरूले राजीनामा दिने भएका छन् । एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले सरकारबाट राजीनामा दिएर बाहिरिन मन्त्रीहरूलाई निर्देशन दिएका हुन् ।

मन्त्रीहरूले समय अनुकूल मिलाएर मुख्यमन्त्री इन्द्र बहादुर बानियाँलाई राजीनामा बुझाउने उनले बताए ।

बागमती सरकारमा एमालेका ६ जना मन्त्री रहेका छन् । मुख्यमन्त्री बानियाँको नेतृत्वमा हाल प्रदेशमा रहेका १४ मन्त्रालयलाई ८ कायम गरिएको छ । साउन १ गतेबाट उक्त निर्णय कार्यान्वयन गर्दै ८ मन्त्रीलाई जिम्मेवारी दिएको छ भने ६ मन्त्रीलाई विना विभागीय मन्त्रीका रूपमा राखेका छन् ।

बागमती सरकारमा एमालेबाट कृषि पशुपन्छी वन तथा वातावरण मन्त्री मधुसूदन पौडेल, उद्योग पर्यटन श्रम तथा यातायात मन्त्री बिन्दु श्रेष्ठ, भौतिक पूर्वाधार विकास मन्त्री डा दिनेशचन्द्र देवकोटा रहेका छन् भने विना विभागीय तर्फ किरण थापा मगर, जयराम श्रेष्ठ र भरत बहादुर केसी मन्त्री रहेका छन् ।

पटिल्लो समय कांग्रेस र एमालेबीच सत्ता साझेदारमा केन्द्रमै कुरा नमिलेपछि सातै प्रदेशमा एकाले-कांग्रेसको सत्तामा फेरबदल हुँदैछ ।