बालेन शाहको सरकार बनेपछि मुलुकको राष्ट्रियता नै खलबलिन थाल्यो : खनाल


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले प्रदेशहरूमा नयाँ राजनीतिक समीकरण बन्न लागेपछि आफनो धारणा सार्वजनिक गरेका छन् । खनालले आइत्बार एक वक्तव्य जारी गर्दै प्रदेश सरकार गठन प्रक्रियामा नेकपा समेत सामेल हुन लागेको चर्चा भइरहेको भन्दै यो बेला अपवित्र साँठगाँठमा लाग्न नहुने बताएका छन् ।

खनालले अहिलेको जटिल अवस्थामा नेपाली कम्युनिस्ट पार्टीले कुनै पनि नयाँ राजनीतिक समीकरणबारे सोच्नुअघि केन्द्रीय संयोजन समितिको बैठक बोलाउनुपर्ने बताएका छन् ।

‘यो जटिल अवस्थामा नेपाली कम्युनिस्ट पार्टीले कुनै पनि नयाँ राजनीतिक समीकरणबारे सोच्नुभन्दा अगाडि कम्तीमा केन्द्रीय संयोजन समितिको बैठक बोलाइयोस्’, खनालले भनेका छन्, आजको आवश्यकताका बारेमा कमिटीमा विस्तृत छलफल गरियोस्, क्रान्तिकारी उद्देश्य र वर्ग दृष्टिकोणलाई सर्वोपरि राखेर मात्र प्रदेशसभामा सरकार बनाउने सम्बन्धमा नीति निर्णय गरियोस्’, उनले भनेका छन् ।

खनालले बालेन्द्र शाहको नेतृत्वमा नयाँ सरकार बनेपछि मुलुकका ज्वलन्त समस्याहरू समाधानको दिशातिर जान्छन् कि भन्ने आमजनताको आशा विपरीत मुलुकको राष्ट्रियता, राष्ट्रिय स्वतन्त्रता,जनजीविका तथा छिमेकी मुलुकसँगका सम्बन्ध नै खलबलिन थालेको विज्ञप्तिमा उल्लेख गरेका छन् ।