अछाम । सुदूरपश्चिम प्रदेशको अछामस्थित पञ्चदेवल विनायक नगरपालिकामा आगामी आर्थिक वर्षको बजेट निर्माणको चटारो सुरु भइरहँदा स्थानीय तहको कार्यशैलीप्रति नागरिक स्तरबाट असन्तुष्टि र गुनासाहरू सार्वजनिक हुन थालेका छन्। उपमेयर हुँदै मेयरको कार्यकाल सम्हालिरहेकी अम्बिका चलाउनेको १० वर्षे कार्यकाल पूरा हुन लाग्दा पनि दुर्गम क्षेत्रका रणनीतिक सडकहरू उपेक्षामा परेको भन्दै स्थानीयले आक्रोश पोखेका हुन्।
चालू कार्यकालको अन्तिम बजेट विनियोजनको तयारी भइरहेका बेला स्थानीय बासिन्दाले सामाजिक सञ्जाल र सार्वजनिक मञ्चहरूमा मेयरको प्रतिबद्धता र वास्तविक धरातलको तुलना गर्दै प्रश्न उठाउन थालेका छन्।
विशेषगरी निर्वाचनका बेला मत माग्न गाउँ पुग्दा गरिएका वाचा र हालको अवस्था फरक रहेको स्थानीयको दाबी छ। ‘म पहिले सहायक थिएँ, अब प्रमुख हुने हो। अब भानाकोट आउँदा गाडी चढेर आउने हो’ भन्दै निर्वाचनताका मेयर चलाउनेले दिएको अभिव्यक्तिलाई स्मरण गर्दै भानाकोटका स्थानीयले अहिलेसम्म उक्त सडक खण्डमा पालिकाबाट ठोस बजेट विनियोजन नभएको गुनासो गरेका छन्।
भानाकोट हुँदै कालिकोट जोड्ने र रणनीतिक रूपमा हिल्सा नाकासम्म पुग्ने भनिएको उक्त अन्तरजिल्ला सडक खण्ड अहिले अलपत्र जस्तै छ। स्थानीयका अनुसार प्रदेश सरकारले कहिलेकाहीँ पठाउने न्यून बजेटबाट केही काम भएजस्तो देखिए पनि पालिका सरकारले भने यसलाई प्राथमिकतामा राखेको छैन। निर्वाचन जितेर कुर्सीमा पुगेपछि मेयर चलाउने न पैदल, न गाडीमा- एकपटक पनि ओखलगैरा-भानाकोट क्षेत्रमा नफर्किएको स्थानीयको गुनासोलाई समेटेर पदमराज उपाध्यायले रिपोर्टर्स नेपाललाई जानकारी दिएका हुन् ।
नगरपालिकाका जनप्रतिनिधि र उनीहरूका निकटस्थहरूले सामाजिक सञ्जालमा ‘विकासको आँधीबेहरी’ ल्याएको दाबी गरिरहँदा दुर्गम बस्तीका नागरिकले भने सडक पूर्वाधारकै लागि सास्ती भोग्नुपरिरहेको छ। आफ्नो कार्यकालको अन्तिम बजेट ल्याउने तयारीमा रहेकी मेयर चलाउनेका लागि यो गुनासो एउटा उदाहरण मात्र भएको र यसलाई प्रतिशोधका रूपमा नलिन स्थानीयले सचेत गराएका छन्। कार्यकालको उत्तरार्धमा रहेकी मेयरलाई आगामी बजेटमा यो सडकका लागि ठोस विकल्प र उपाय निकाल्न स्थानीयले आग्रह गरेका छन्।




प्रतिक्रिया