पशुपतिनाथमा साउने सोमबारका लागि कोषको तयारी सुस्त


काठमाडौँ । हिन्दु धर्मावलम्बीहरूका लागि विशेष धार्मिक एवं सांस्कृतिक महत्व बोकेको साउन महिनाको सोमबार भोलिदेखि शुरु हुँदैछ। साउनका सोमबारहरूमा भगवान् शिवको दर्शन, पूजाआराधना र जल चढाउन देशका विभिन्न भागका साथै छिमेकी मुलुक भारतबाट समेत हजारौँ भक्तजन पशुपतिनाथ मन्दिर पुग्ने गर्दछन्।

यति ठूलो धार्मिक उत्सवको पूर्वसन्ध्यामा पनि पशुपति क्षेत्र विकास कोष परिसरमा भने विगतका वर्षहरूमा जस्तो चुस्त र विशेष पूर्वतयारी देखिएको छैन। पहिलो सोमबार आउन केही घण्टा मात्रै बाँकी रहँदा पनि दर्शनार्थीको सहजताका लागि आवश्यक प्रबन्धहरू सुस्त देखिएका छन्।

लाखौँको भीड हुने साउने सोमबारमा दर्शनार्थीलाई व्यवस्थित रूपमा मन्दिर प्रवेश गराउन बनाइने लामो लाइन (ब्यारिकेडिङ), विभिन्न मार्गहरूमा राखिने सूचना बोर्ड र सुरक्षा व्यवस्थाको चुस्त समन्वयमा अझै पूर्णता आउन सकेको छैन। त्यस्तै, लाइनमा बस्ने भक्तजनका लागि आवश्यक खानेपानीको व्यवस्था, आकस्मिक स्वास्थ्य सहायता कक्ष र भीड नियन्त्रणका लागि स्वयंसेवकहरूको परिचालन जस्ता संवेदनशील विषयमा कोषले ठोस र तीव्र तयारी गरेको देखिँदैन।

साउन महिनाभरि पशुपति क्षेत्रमा थामिनसक्नु भीड हुनेछ, उसमाथि सोमबारका दिन दर्शनार्थीहरूको झनै बाक्लो चहलपहल हुनेछ ।