काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले राष्ट्रिय भेलाको घोषणा गरेको छ।
आज(आइतबार) चुनदेवीस्थित सम्पर्क कार्यालयमा पत्रकार सम्मेलन गर्दै पार्टी एकताको सम्भावना कमजोर भएको जानकारी दिए । त्यस्तै साउनभित्रै राष्ट्रिय भेला गर्ने तयारी गरेको बताइएको छ ।
पत्रकार सम्मेलनमा कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, डा। शशांक कोइराला, विमलेन्द्र निधि, डा. प्रकाशशरण महतलगायत शीर्ष नेताहरू सहभागी थिए।
यस्तै, संस्थापन इतर समूहले पार्टीभित्रको एकताका राखेको पाँच बुँदे प्रस्ताव सार्वजनिक गरेको छ ।
यस्ता छन् पाँच बुँदे प्रस्ताव–
(क) चौधौँ महाधिवेशनको कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई विशेष महाधिवेशनको कार्यसमितिसँगै मिलाएर गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई पूर्णता दिने ।
(ख) सभापति गगनकुमार थापाको बहुमत रहने गरी कार्यसम्पादन समिति बनाउने ।
(ग) पूनर्गठित केन्द्रीय कार्यसमितिको बैठकले पन्ध्रौ महाधिवेशनको कार्यतालिका घोषणा गर्ने ।
(घ) वर्तमान संस्थापन पक्षको बहुमत रहने गरी महाधिवेशनसँग सम्वन्धित विभिन्न समितिहरू बनाउने ।
(ङ) महाधिवेशनको लागि सबैभन्दा महत्त्वपूर्ण आधार पार्टीको क्रियाशील सदस्यता भएकोले यसका लागि पार्टी भित्र विवाद हुनु पहिले नै वर्तमान सभापति गगनकुमार थापा (तत्कालीन महामन्त्री) संयोजक रहेको समितिले टुङ्ग्याएका सबै क्रियाशील सदस्यलाई पन्ध्रौँ महाधिवेशनमा स्वतः सहभागी हुन पाउने व्यवस्था गरी उनीहरूको डिजिटल इन्ट्री गर्दै जाने । डिजिटल इन्ट्रीलाई पुनः नवीकरण भनी महाधिवेशनमा भाग लिन पाउने नपाउने विषयसँग नजोड्ने ।
यी प्रस्ताव आज सार्वजनिक गरिएपनि सभापति गगन थापालाई ह्वाट्सएपमा पहिले नै पठाइसकेको बताइएको छ । यी प्रस्तावलाई सभापति थापाले अस्विकार गरेको इतरपक्षको आरोप छ ।




प्रतिक्रिया