सभापति लामिछाने र अर्थमन्त्री वाग्लेको २४ घण्टा लामो वार्ता : प्रधानमन्त्रीमा `बालेन´ को विकल्पबारे  छलफल 


काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेबिच झन्डै २४ घण्टा लामो  अर्थपूर्ण भेटवार्ता भएको छ ।

काभ्रेपलाञ्चोकस्थित दुसित थानी रिसोर्टमा सनिवार दिउँसो ३:२० मा पत्नीसहित सभापति लामिछाने त्यँहा पुगेका थिए भने वाग्ले त्यसअघि नै पुगिसकेका थिए । छलफल सकेर सभापति लामिछाने आइतबार साँझ काठमाडौं फर्किएका छन् । 

पछिल्लो समय सरकार र पार्टीको तालमेलको विषयमा चर्चा सुरु भएपछि पार्टी सभापति लामिछाने र उपसभापति समेत रहेका अर्थमन्त्री वाग्लेको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

केही दिन अगाडि लामिछाने निवासमा प्रधानमन्त्री बालेन शाहले भेटेर अर्थमन्त्री वाग्लेको कार्यशैलीमाथी असन्तुष्टि व्यक्त गर्दै हटाउनुपर्ने प्रस्ताव राखेको चर्चा राजनीतिक वृतमा  छ  । प्रधानमन्त्रीको उक्त प्रस्ताव सभापति लामिछानेले मानेका छैनन् । लामिछानेले अर्थमन्त्रीबाट  वाग्लेलाई हटाउने बालेनको प्रस्तावमा सहमत नभएको उच्च स्रोतले जानकारी दियो ।

अर्थमन्त्री वाग्लेको परम्परागत आर्थिक सुधारको खाका र सुस्त प्रक्रियाप्रति प्रधानमन्त्री सन्तुष्ट हुन सकेका छैनन्  । विशेषगरी राष्ट्रिय गौरवका आयोजना, आकस्मिक बजेट विनियोजन र खुकुलो मौद्रिक नीतिका पक्षमा रहेका बालेनलाई अर्थमन्त्री वाग्लेको कडा वित्तीय अनुशासन र ‘टेक्नोक्रेटिक शैली’ले बाधा पुर्‍याएको स्रोतको दाबी छ ।

बालेनले चाहेका कतिपय तत्काल परिणाममुखी योजनामा अर्थ मन्त्रालयले ढिलासुस्ती गरेपछि वाग्लेको विकल्प खोज्ने निष्कर्षमा प्रधानमन्त्री पुगेका हुन् । बजेटमा प्रधानमन्त्रीले तत्काल देखिने र जनताले राहत महसुस गर्ने खालका कार्यक्रम समेट्न खोजे पनि अर्थमन्त्रीले त्यस्ता कार्यक्रम नसमेटेपछि बालेन सचिवालय रुष्ट बनेको थियो । स्रोतका अनुसार, अर्थमन्त्रीकै कारण सेयर बजार समस्यामा परेको, पुँजी निर्माणभन्दा वैदेशिक ऋणलाई बढी प्राथमिकता दिएको र अर्थतन्त्र जगाउने खालको बजेट ल्याउन नसकेको भन्दै प्रधानमन्त्री बालेन अर्थमन्त्री वाग्लेसँग असन्तुष्ट छन्।

सोही कारण उद्योगी, व्यवसायी तथा राष्ट्रबैंकका गभर्नर डा. विश्व पौडेलसँगको छलफलमा पनि अर्थमन्त्री वाग्लेलाई सहभागी नगराई प्रधानमन्त्रीले एक्लैले छलफल गरे ।

स्रोतका अनुसार दुसित थानी रिसोर्टमा भएको भेटमा सभापति लामिछाने र अर्थमन्त्री वाग्लेबीच प्रधानमन्त्री शाहको कार्यशैली, सरकारको सय दिन तथा सुकुम्बासी व्यवस्थापनलगायतका विषयमा समीक्षा भएको थियो। सरकारप्रति जनगुनासो बढ्दै गएको निष्कर्ष निकाल्दै पार्टीको नीति र घोषणापत्रअनुसार सरकार सञ्चालन नभए नेतृत्व परिवर्तनको विकल्पसमेत छलफलमा आएको स्रोतको दाबी छ।

यद्यपि, प्रधानमन्त्रीको विकल्पका रूपमा कसलाई अघि सार्ने भन्ने विषयमा भने पार्टीभित्र थप छलफल गरेर मात्र निर्णय लिने समझदारी भएको स्रोतले जनाएको छ।

पछिल्लो समय सरकारको कार्यशैलीलाई लिएर रास्वपाकै केही सांसदहरुले संसद बैठक र सामाजिक सन्जालमार्फत सार्वजनिक रुपमै प्रश्न उठाउँदै आएका छन्