सातै प्रदेशमा वाम गठबन्धनको सरकार बनाउने तयारी, एमाले र नेकपाका नेताहरू संवादमा


काठमाडौ । प्रदेश सरकारमा दुई वर्षअघि देखि सुरु भएको एमाले-कांग्रेसको सत्ता सहकार्य टुटेको छ ।

कांग्रेस सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माले एमाले नेतृत्वसंग पटकपटक संवाद गर्दा पनि सहमति नभएपछि कांग्रेस सत्ता साझेदारी नै तोड्ने निष्कर्षमा पुगेको हो । 

जसअन्तर्गत कर्णाली प्रदेशका कांग्रेसका चार मन्त्रीहरुले एमाले नेता एवं मुख्यमन्त्री यामलाल कँडेल समक्ष सामुहिक राजिनामा बुझाइसकेका छन् । त्यस्तै सुदुरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले एमालेतर्फका मन्त्रीहरूलाई बर्खास्ती गरिसकेका छन् ।

कोशीमा कांग्रेसका मन्त्रीहरु केन्द्रको निर्णय पर्खिरहेका छन् भने बागमतीमा एमालेका मन्त्रीहरु राजीनामा दिने तयारीमा छन् । गण्डकीमा हलचल नभएपनी केन्द्रको निर्णयपछि गठबन्धन तोड्नुपर्ने निश्चित नै छ । 

नेपाली कांग्रेसका सभापति गगन थापाले तीन दल मिलेर प्रदेशको सरकार नबनाउने बताएका छन् । उनले ललितपुरमा आइतबार कृष्णप्रसाद भट्टराईको सालिक अनावरण समारोहलाई सम्बोधन गर्दै एमाले, कांग्रेस र नेकपाबीच प्रदेशमा गठबन्धन नबन्ने बताएका हुन्। ‘तीन दल मिलेर सरकार बनाउनु भनेको प्रदेशसभालाई प्रतिपक्षविहीन बनाउनु हो । सरकारमा सहभागी हुनु मात्र कांग्रेसको उद्देश्य होइन । सत्तालाई नै सबैथोक मान्ने सोचले नै विगतदेखि नेपाली राजनीतिलाई अस्थिर बनाएको छ’, उनले भने ।

यसैबीच , एमाले र नेकपाका नेताहरूले कांग्रेसलाई सत्ता बाहिर राखेर सातै प्रदेशमा बाम सरकार बनाउनेगरि छलफल अगाडि बढाइएको स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार त्यसका लागि नेकपा र एमालेको दोस्रो तहका नेताहरु सक्रिय भएका छन् । वार्तामा संलग्न एमालेका एक नेताले भने, “नेकपाका संयोजक प्रचण्डजी बाहिर हुनुहुन्थ्यो। हामीले  प्रारम्भिक चरणको छलफलमा वाम सरकार गठन गर्ने विषयमा सहमति जुटाउने प्रयास गरेका छौं। आज (आइतबार) प्रचण्डजी फर्किनुभएको छ। अब निर्णायक तहको वार्ता पनि अघि बढ्नेछ।”

राजनीतिक भ्रमणका क्रममा श्रीलंका गएका नेकपामा संयोजक पुष्प कमल दाहाल`प्रचण्ड´ आज(साउन ३,२०८३)  मा स्वदेश फर्किएका छन् । 

उनका अनुसार एमाले- कांग्रेसको बहुमत पुग्ने प्रदेशमा बाम सरकार र बहुमत नपुगेको प्रदेशमा अन्य साना दललाई सहभागी गराएर सरकार सन्चालन गर्ने तयारी छ ।