काठमाडौं, साउन ३ । पश्चिम एसियामा युद्ध पुनः सुरु भएको र पहिलो पटक अमेरिकी सैनिकको मृत्यु भएपछि अमेरिकाले आइतबार इरानमाथि हवाई आक्रमण गरेको छ। यो आक्रमण इरानलाई ‘सजाय’ दिनका लागि भएको बताइएको छ ।
इरानले पनि अमेरिकी आक्रमणको तत्काल प्रतिक्रिया दिँदै कुवेतमा रहेका दुई अमेरिकी सैनिक आधारलाई लक्षित गरेको जनाएको छ । यो आक्रमण एक सातादेखि बढ्दै गएको आक्रमणको जवाफमा भएको इरानले बताएको छ । तेहरानले विमानस्थल, रेलवे स्टेसन र पुलहरूमाथि निशाना बनाइएको आरोप लगाएको छ ।
हर्मुज जलडमरूमध्यमा नियन्त्रणका लागि दुवै पक्षबीच लडाइँ बढेपछि युद्ध अन्त्य गर्नका लागि तयार पारिएको प्रारम्भिक सम्झौता भाँडिएको छ। यो जलमार्ग विश्वको तेल आपूर्तिका लागि अत्यन्त महत्वपूर्ण छ । इरानी सेनाले कुवेतका दुई अमेरिकी आधारमा ड्रोन आक्रमण गरेको बताएको छ । उनीहरूले क्याम्प उदैरीको गोला–बारुद गोदाम र अली अल सलेम एयर बेसको प्याट्रियट रडार तथा हवाई निगरानी प्रणालीलाई लक्षित गरेको जनाएका छन् ।
तेहरानले जोर्डनमा पनि नयाँ आक्रमण गरेको छ । अमेरिकी सेनाको सेन्ट्रल कमान्ड (सेन्टकम) ले शुक्रबार इरानी ब्यालिस्टिक मिसाइल र ड्रोन आक्रमणको सामना गर्दा दुई अमेरिकी सैनिक मारिएको बताएको छ । सेन्टकमले एक सैनिक अझै बेपत्ता रहेको पुष्टि गरेको छ । यी मृत्युहरूसँगै फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि सुरु गरेको युद्धमा मारिने अमेरिकी सैनिकको सङ्ख्या १६ पुगेको छ ।
अमेरिकी सेनाले इरानमाथि लगातार आठौँ राति आक्रमण गरेको बताएको छ । यो आक्रमण जोर्डनमा मारिएका दुई अमेरिकी सैनिकको आक्रमणमा संलग्न युनिटहरूलाई लक्षित थियो । अमेरिकी सेन्ट्रल कमान्डले यो आक्रमण ‘जोर्डनमा अमेरिकी सैनिकमाथि आक्रमण गर्ने इस्लामिक रिभोल्युसनरी गार्ड कोरका सेनालाई छिट्टै सजाय दिन’ भएको बताएको छ ।
इरानको आणविक ऊर्जा सङ्गठनले अमेरिकाले देशको दक्षिणपश्चिममा निर्माणाधीन आणविक विद्युत् प्लान्टमा आक्रमण गरेको आरोप लगाएको छ । राष्ट्रिय टेलिभिजनले प्रसारित गरेको विज्ञप्तिमा उक्त सङ्गठनले भनेको छ, “अमेरिकी सेनाले अन्तर्राष्ट्रिय कानुनविपरीत आक्रामक र क्रूर कार्य गर्दै आइतबार निर्माणाधीन दारखोभिन आणविक विद्युत् प्लान्टमा धेरै प्रोजेक्टाइल प्रहार गरेको छ ।”
अविस्मरणीय पाठ
इरानी आक्रमणपछि जोर्डनमा पनि साइरन बजाइएको थियो । इजरायली सेनाले जोर्डनको सेनासँग मिलेर अकाबा बन्दरगाहतर्फ आउँदै गरेको इरानी मिसाइललाई रोकेको बताएको छ । इरानले तत्काल आक्रमण गरेको पुष्टि गरेको छैन, तर अमेरिकी दूतावासले यसअघि नै अकाबाको बन्दरगाह र विमानस्थललाई लक्षित ‘विशेष र विश्वसनीय खतरा’ भएको चेतावनी दिएको थियो।
कुवेतको विद्युत् मन्त्रालयले दोस्रो दिन पनि विद्युत् तथा पानी प्लान्टमा आक्रमण भएको र त्यहाँ आगलागी भएको जनाएको छ । बहराइनको सेनाले पनि इरानी हवाई आक्रमणलाई रोकेर नष्ट गरेको बताएको छ र इरानले नागरिकलाई लक्षित गरेको आरोप लगाएको छ ।
यो नयाँ हिंसा सुरु हुनुको मुख्य कारण इरानले सामरिक हर्मुज जलडमरूमध्यमा जहाजहरूमाथि गरेको आक्रमण थियो । युद्ध सुरु भएपछि इरानले जलडमरूमध्य बन्द गरेको थियो । यो मार्गको नियन्त्रण वाशिङ्गटनसँगको वार्तामा इरानको बलियो हतियार बनेको छ ।
आइतबार इरानी रिभोल्युसनरी गार्डले हर्मुज जलडमरूमध्यबाट गुज्रन खोजेका दुईवटा पानी जहाज (ट्याङ्कर) रोकेको बताएको छ । इरानको स्वास्थ्य मन्त्रालयले शुक्रबारसम्म नयाँ लडाइँमा ५० जनाको मृत्यु भएको र ५०० भन्दा बढी घाइते भएको जनाएको छ ।




प्रतिक्रिया