काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह(बालेन) र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेबिच केही समयदेखि दुरी बढेको छ । अर्थमन्त्री वाग्लेले ल्याएको बजेट तथा आर्थिक कार्यशैलीलाई लिएर उत्पन्न गतिरोधका कारण रास्वपा संस्थापन र प्रधानमन्त्री बालेनको टिम गम्भीर अवस्थामा पुगेका छन्।
प्रधानमन्त्री बालेननिकट स्रोतका अनुसार वाग्लेले बजेटमा लिएका कतिपय कर नीतिमा प्रधानमन्त्री बालेन सन्तुष्ट छैनन् । शिक्षा, स्वास्थ्य र बिजुलीमा लगाइएको करप्रति प्रधानमन्त्रीले असहमति जनाएका छन् । ‘अर्थमन्त्रीले शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि कर लगाउनु भएको छ । त्यो बजेटमा ल्याउनुअघि सम्बन्धित मन्त्रालय र प्रधानमन्त्रीको टिमसँग एकपटक पनि छलफल गर्नुभएन । त्यसमा प्रधानमन्त्रीले असहमति जनाउँदै आउनुभएको छ । त्यसबारेमा पार्टी सभापतिलाई पनि जानकारी गराइसकेको छ’, उनले भने ।
अर्थमन्त्रीसँग प्रधानमन्त्रीको असन्तुष्टि छ भन्ने आधार उनको व्यवहारबाटै पुष्टि भइसकेको छ । प्रधानमन्त्रीले अर्थ मन्त्रालयको काममा हस्तक्षेप मात्र गरेका छैनन्, मन्त्रालयसँग सम्बन्धित विषयमा वाग्लेलाई ‘बाइपास’ नै गरिरहेका छन्।
उनले उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, राष्ट्र बैंकका गभर्नर, नेपाल निर्माण व्यवसायी महासंघ र होटलसंघ लगायत विभिन्न अर्थसँग सम्बन्धित निकायसँग उच्चस्तरीय वार्ता एक्लैले गरिसकेका छन् । ती कुनै पनि उच्चस्तरीय बैठकमा अर्थमन्त्री वाग्लेको सहभागी भएन । त्सस्तै , आज पुँजी बजार, धितोपत्र व्यवसाय तथा बीमा क्षेत्रका सरोकारवालासँग प्रधानमन्त्रीले विशेष छलफल गर्दै छन्। यसमा पनि अर्थमन्त्रीको सहभागि रहनेबारे कुनै जानकारी छैन ।
स्रोतका अनुसार प्रधानमन्त्रीले हरेकजसो छलफलमा अर्थमन्त्रीलाई सहभागि नगराई रास्वपाकै सांसद तथा उद्यमी विदुषी राणालाई राख्ने गरेका छन् । आफूलाई कुनै पनि बैठकमा सहभागि नगराएपछि अर्थमन्त्री वाग्ले प्रधानमन्त्रीसँग रुष्ट छन् । यसैबीच, पार्टी सभापति रवि लामिछानेसँग उपसभापतिसमेत रहेका अर्थमन्त्री वाग्लेले झण्डै २४ घण्टा लामो गम्भीर छलफल गरेका छन्।
काभ्रेपलाञ्चोकस्थित दुसित थानी रिसोर्टमा सनिवार दिउँसो पत्नीसहित सभापति लामिछाने त्यँहा पुगेका थिए भने वाग्ले त्यसअघि नै पुगिसकेका थिए । उनीहरुबीच झन्डै २४ घण्टा लामो अर्थपूर्ण छलफलपछि सभापति लामिछाने आइतबार साँझ काठमाडौं फर्किए ।
स्रोतका अनुसार दुसित थानी रिसोर्टमा भएको भेटमा सभापति लामिछाने र अर्थमन्त्री वाग्लेबीच प्रधानमन्त्री शाहको कार्यशैली, सरकारको सय दिन तथा सुकुम्बासी व्यवस्थापनलगायतका विषयमा समीक्षा भएको थियो। सरकारप्रति जनगुनासो बढ्दै गएको निष्कर्ष निकाल्दै पार्टीको नीति र घोषणापत्रअनुसार सरकार सञ्चालन नभए नेतृत्व परिवर्तनको विकल्पसमेत छलफलमा आएको स्रोतको दाबी छ।
यस्तै , केही दिन अगाडि लामिछाने निवासमा पुगेर प्रधानमन्त्री शाहले अर्थमन्त्री वाग्लेको कार्यशैलीमाथी असन्तुष्टि व्यक्त गर्दै हटाउनुपर्ने प्रस्ताव राखेको चर्चा राजनीतिक वृतमा छ । प्रधानमन्त्रीको उक्त प्रस्ताव सभापति लामिछानेले मानेका छैनन् । लामिछानेले अर्थमन्त्रीबाट वाग्लेलाई हटाउने बालेनको प्रस्तावमा सहमत नभएको उच्च स्रोतले जानकारी दियो । प्रधानमन्त्रीले अर्थमन्त्रीमा वाग्लेको साटो विदुषी राणालाई ल्याउन खोजिएको पनि राजनीतिक वृतमा चर्चा भइरहेको छ ।
लामिछानेनिकट एक नेताले बाहीर मिडियामा आएको सबै समाचारमा सत्यता नभएको दाबी गरे । ‘प्रधानमन्त्री र अर्थमन्त्रीबीच केही विषयमा सहमति नभएको सत्य हो । तर, अर्थमन्त्रीलाई हटाउने प्रस्ताव पार्टीमा राख्नुभएको छैन’, उनले भने । उनका अनुसार दुसित थानी रिसोर्टमा लामिछाने र वाग्लेबीच सरकारको कमिकमजोरीलाई सच्याउँदै जनताको चाहना अुनसार अगाडी बढ्नुपर्नेमा जोड दिइएको छ । अर्थमन्त्री र प्रधानमन्त्रीको बीचमा देखिएको दुरीलाई पार्टीसभापति लामिछानेले घटाउने उनको विश्वास छ । ‘हाम्रो पार्टी सभापति र उपसभापतिले लामो छलफल गर्नुभएको छ । त्यसमा सरकार, पार्टी र पछिल्लो समय उत्पन्न गतिरोधका विषयमा गम्भीर छलफल गर्नुभएको छ । त्यो छलफल गर्नु भनेकै समस्याको समाधान हो । जनताको चाहना हामी मिलेर बसुन् भन्ने छ । जनताको चाहनालाई पार्टी सभापतिले आफू एक कदम पछि हटेर भएपनि पूरा गर्नुहुन्छ ,’ उनले थपे ‘अहिले उहाँहरु(प्रधानमन्त्री र अर्थमन्त्री) बीच जुन समस्या भएको छ । त्यो समस्यालाई सभापतिले हटाउनुहन्छ ।’
यद्यपी सभापति लामिछाने र अर्थमन्त्रीबीच भएको छलफलको विषय औपचारीक रुपमा सार्वजनिक गरिएको छैन । पछिल्लो समय सरकारको कार्यशैलीलाई लिएर रास्वपाकै केही सांसदहरुले संसद बैठक र सामाजिक सन्जालमार्फत सार्वजनिक रुपमै प्रश्न उठाउँदै आएका छन् । प्रधानमन्त्री बालेनले अर्थ मन्त्रालयसँग सम्बन्धित निकायसँगको भेटमा अर्थमन्त्रीको सहभागि नगराउनु,साेही समयमा सभापति र वाग्लेबीच भएको २४ घण्टा लामो वार्ताले आगामि दिनमा कस्तो नतिजा दिन्छ त्यो हेर्न केही दिन पर्खिनुपर्ने देखिएको छ ।




प्रतिक्रिया