काठमाडौं । राष्ट्रिय बाल अधिकार परिषद्ले काठमाडौं महानगरपालिका–१ स्थित नक्सालमा रहेको नेपाल बाल संगठनको केन्द्रीय कार्यालय अन्तर्गत सञ्चालनमा रहेको बाल गृहबाट २० जना बालबालिकाको आकस्मिक उद्धार गरी पुनःस्थापना गरिएको छ। बाल मन्दिर नक्शालमा रहेका बालबालिका जोखिममा रहेको सूचनाका आधारमा गत साउन २ गते अनुगमन गरी उनीहरूको उद्धार गरिएको हो।
अनुगमनका क्रममा बाल गृहमा आश्रित १०८ जना बालबालिकामध्ये केही बालबालिका उच्च जोखिममा रहेको पाइएको थियो। विशेषगरी भवन परिसरमा पानी जमेको, सरसफाइ तथा स्वास्थ्यको अवस्था कमजोर रहेको र संरक्षणको दृष्टिले जोखिम देखिएको जनाइएको छ।
उक्त अवस्थालाई ध्यानमा राख्दै २ वर्षमुनिका १५ जना बालबालिका र २ वर्षमाथिका ५ जना गरी जम्मा २० जनालाई तत्काल उद्धार गरी अस्थायी संरक्षण तथा पुनःस्थापनाको व्यवस्था मिलाइएको परिषद्ले जनाएको छ।
अनुगमनमा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक तथा सामाजिक सुरक्षा मन्त्रालय, राष्ट्रिय बाल अधिकार परिषद्, बालबालिका खोजतलास समन्वय केन्द्र (१०४), बाल हेल्पलाइन (१०९८), काठमाडौं महानगरपालिका, बाल अधिकार समितिका प्रतिनिधि तथा प्रहरीको संयुक्त टोली सहभागी थियो।
परिषद्ले बालबालिका सम्बन्धी प्रचलित नियमावली तथा मापदण्डको पालना नगरी बाल गृह सञ्चालन गरिएको पाइएमा कानुनबमोजिम कारबाही गरिने चेतावनी दिएको छ। साथै, सम्बन्धित निकायलाई नियमित अनुगमन, निरीक्षण तथा व्यवस्थापनमा आवश्यक सहयोग गर्न आग्रह गरिएको छ।





प्रतिक्रिया