ललितपुरको महालक्ष्मीस्थानमा सडक भासियो


ललितपुर । लगातारको वर्षापछि ललितपुरको महालक्ष्मी नगरपालिका ३, महालक्ष्मीस्थानमा सडक भासिएको छ ।

सोमबार सडक भासिएपछि त्यसको छेउमा रहेको फर्निचर, क्याफे, किराना पसलसमेत जोखिममा परेको छ । सडकसँग जोडिएको भित्ता बलियो नभएकाले सडक भासिँदा भित्ता र माटो फर्निचरतर्फ खसेको थियो ।

सडक भासिँदा फर्निचरभित्र ६ जना थिए । बाहिरबाट ठूलो आवाज आएपछि उनीहरू भागेर निस्किएका थिए ।

फर्निचरमा गाडिएका चारवटा फलामका संरचनाले भासिएको भित्ता र माटोलाई थामेर राखेपछि ठूलो क्षति हुनबाट जोगिएको सञ्चालकले बताएका छन् ।