​शिक्षा र स्वास्थ्यमा कर लागू नगर्ने प्रधानमन्त्रीको निर्णयलाई गगन थापाले भने-‘स्वागत छ..’


काठमाडौँ । सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा ३ प्रतिशत समता कर लागू नगर्ने निर्णयको नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले स्वागत गरेका छन् ।

​प्रधानमन्त्री बालेन शाहले मंगलबार सामाजिक सञ्जालमार्फत शिक्षा र स्वास्थ्यमा ३ प्रतिशत कर लागू नगर्ने जानकारी गराएपछि प्रतिक्रिया दिँदै थापाले यो व्यवस्था प्रारम्भदेखि नै अनुपयुक्त रहेको र खारेज गर्ने सरकारको निर्णय सही भएको बताएका हुन् ।

​थापाका अनुसार निजी अस्पताल र विद्यालय रोज्ने सबै नागरिक सम्पन्न हुँदैनन्। धेरैका लागि यो कुनै विलासिता नभएर बाध्यता भएको उल्लेख गर्दै उउनले भनेका छन् , “निजी क्षेत्र पनि देशको शिक्षा र स्वास्थ्य प्रणालीको अभिन्न साझेदार हो। सेवा प्रवाहमै अतिरिक्त शुल्क वा करको भार थप्ने नीतिले कहिल्यै पनि समस्याको समाधान गर्दैन।”

​ सरकारले आर्थिक र सामाजिक यथार्थलाई स्वीकार गर्दै उक्त व्यवस्था खारेज गरेकोमा धन्यवाद दिँदै सभापति थापाले यस निर्णयलाई कार्यान्वयनमा लैजान आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया रीतपूर्वक पूरा गर्न आग्रहसमेत गरेका छन् ।

​साथै, थापाले सरकारसँग बिजुलीमा लगाइएको भ्याटजस्ता अन्य अव्यावहारिक कर तथा नीतिगत त्रुटिहरू पनि सच्याएर आम नागरिकको मर्म बुझ्न आग्रह गरेका छन् ।