काठमाडौं । पाल्पास्थित शाक्यमुनि कमोडिटिज नामक कम्पनीबाट करिब १० करोड रुपैयाँभन्दा बढी रकम ठगिएको दाबी गर्दै ४० भन्दा बढी पीडितले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी न्यायको माग गरेका छन्।
पीडितहरूका अनुसार कम्पनीले नुनदेखि सुनसम्मका विभिन्न वस्तु उत्पादन गर्ने, पाल्पाका स्थानीय उत्पादनलाई देश–विदेशमा बजार विस्तार गर्ने तथा स्थानीय नागरिकलाई रोजगारी सिर्जना गर्ने आकर्षक योजना प्रस्तुत गर्दै सर्वसाधारणलाई कम्पनीको लागत शेयरमा लगानी गर्न प्रेरित गरेको थियो।
पत्रकार सम्मेलनमा पीडितहरूले कम्पनीका सञ्चालक सचिन शाक्य तथा कम्पनीको अभियानमा सक्रिय कल्पना घिमिरेले स्थानीयलाई विभिन्न आश्वासन दिँदै लगानी गर्न लगाएको बताएका छन् । सामाजिक अभियन्ता शम्भु थापाका अनुसार लगानीकर्तासँग तमसुकसमेत बनाएर उनीहरूले रकम संकलन गरिएको थियो।
शाक्यमुनि कमोडिटिज २०६८ सालमा नेटवर्किङ व्यवसायको अवधारणामा स्थापना भएको र त्यसपछि सर्वसाधारणबाट ठूलो रकम उठाएको बताए। प्रारम्भिक चरणमा कम्पनीले विश्वास दिलाए पनि पछि लगानीकर्ताको रकम फिर्ता नगरेको, संस्था नै निष्क्रिय बनेको र कम्पनीका प्रतिनिधिहरू सम्पर्कविहीन भएको उनीहरूको भनाइ छ।
पीडितहरूका अनुसार तमसुकमार्फत लिएको रकम करिब ४–५ करोड रुपैयाँको मात्रै प्रमाण रहेको छ भने बाँकी रकम नगद वा अन्य माध्यमबाट संकलन गरिएकाले त्यसको लिखित प्रमाण छैन।
पत्रकार सम्मेलनमा अभियन्ता थापाले संकलित रकमबाट कम्पनीसँग सम्बन्धित व्यक्तिहरूले काठमाडौंका विभिन्न स्थानमा घरजग्गा जोडेको आरोपसमेत लगाए।




प्रतिक्रिया