सबै कर्मचारीलाई सम्पति विवरण बुझाउन उद्योग मन्त्रालयको आग्रह


काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आफू मातहतका सबै प्रतिष्ठान, संस्थान, समिति, बोर्ड, कम्पनी र प्राधिकरणमा कार्यरत कर्मचारीलाई सम्पति विवरण बुझाउन आग्रह गरेको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सरकारी उद्योग तथा संस्थान शाखाले सूचना निकालेर आर्थिक वर्ष २०८२/०८३ को सम्पत्ति विवरण बुझाउन आग्रह गरेको हो ।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० को उपदफा (१) तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा ३१क को उपदफा (१) बमोजिम सार्वजनिक पद धारण गरेका व्यक्तिले सम्पत्ति विवरण बुझाउनुपर्छ ।

सार्वजनिक पद धारण गरेको मितिले ६० दिनभित्र र त्यसपछि हरेक आर्थिक वर्ष समाप्त भएको मितिले ६० दिनभित्र आफ्नो र आफ्नो परिवारको नाममा रहेको सम्पत्तिको अद्यावधिक विवरण नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेको निकाय वा अधिकारी समक्ष पेश गर्नुपर्ने कानुनी व्यवस्था छ ।

यही व्यवस्था स्मरण गराउँदै मन्त्रालयले प्रतिष्ठान, संस्थान, समिति, बोर्ड, कम्पनी र प्राधिकरणमा सार्वजनिक पद धारण गरेका पदाधिकारी तथा कर्मचारीहरूलाई सम्पति विवरण बुझाउन भनेको हो ।