काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले नेपाली कांग्रेसले सत्ता प्राप्तिको दौडमा बीपी कोइरालाको मेलमिलापको नीतिलाई नै बिर्सिएको बताएका छन् । ‘सत्ताका लागि हामीले बीपीको मेलमिलापको नीतिलाई किच्यौँ, त्यसैले आज हामीलाई गाह्रो बनाएको छ,’ उनले भने ।
बिहिबार बीपी स्मृति दिवसका अवसरमा राष्ट्रिय सभागृहमा आयोजित ‘नवीन परिस्थिति, नवीन संकल्प, नवीन अभियान’ घोषणा कार्यक्रममा आङ्देम्बेले पार्टीभित्र देख्रिएको गुटबन्दीप्रति असन्तुष्टि जनाए ।
जीवन्त पार्टीमा वैचारिक मतभेद हुनु स्वाभाविक भए पनि त्यसलाई आक्रोशमा बदल्न नहुने उनले बताए । ‘जब मतभेद आक्रोशमा परिणत हुन्छ, त्यसले पार्टीको जोसलाई सिथिलतामा बदल्दै लैजान्छ । अहिले विवेक र तर्क हराएको जस्तो देखिएको छ, जुन अहंकार र गालीगलौजमा प्रकट भइरहेको छ,’ उनले भने ।
उनले पार्टी सभापति गगन थापाको खुलेर प्रशंसा गरे । उनले भने, ‘मेरा नेतृत्व उमेरले सानो भए पनि बुद्धिमा ठुलो हुनुहुन्छ ।’ नेता आङ्देम्बेले पार्टीभित्रको आन्तरिक कलहलाई त्यागेर सबै नेता–कार्यकर्तालाई विवेकपूर्ण ढङ्गले पार्टी निर्माणमा लाग्न र आगामी दिनमा कांग्रेसलाई थप बलियो बनाउने अभियानमा जुट्न आह्वान गरे ।




प्रतिक्रिया