काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी(नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारविरूद्ध चारैतिरबाट घेरा हाल्नुपर्ने बताएका छन् ।
काठमाडौँमा शुक्रबार ४८ औँ पुष्पलाल स्मृति दिवसको अवसरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले राष्ट्रिय स्वाधीनताको लडाइँ लड्न वामपन्थी र लोकतान्त्रिक शक्ति एकजुट हुनुपर्ने बताएका हुन् । त्यसका लागि साझा न्यूनतम कार्यक्रम ल्याउनुपर्ने उनले बताए ।
‘साझा न्यूनतम कार्यक्रम चाहियो । राष्ट्रिय स्वाधीनताका निम्ति आन्दोलन यसरी गर्ने । यसमा हामी कसैलाई पनि आपत्ति गर्ने कुरा हुँदैन । राष्ट्रिय स्वाधीनताको लागि लडाइँ लड्न तयार हुने । त्यसका लागि साझा न्यूनतम कार्यक्रम तयार गर्ने । नेपालका गरिब, मजदुर, किसान, उत्पीडित समुदायका अधिकार खोस्ने दुष्साहस भएको छ, त्यसविरुद्ध जनतालाई सङ्गठित र आन्दोलित गर्ने’, प्रचण्डले भने ।
उनले सडकदेखि सदनसम्म सरकारविरुद्ध लड्नुपर्ने बताए । ‘सदनमा लड्ने, सडकमा लड्ने, आगामी निर्वाचनमा लड्ने । चारैतिरबाट घेरा हाल्ने । सिकाएको त उनीहरुले छन्, तर हामी उनीहरू जसरी लड्छन् हामी त्यसरी लड्दैनौँ । माओले भन्ने गर्नुहुन्थ्यो–यु फाइट योर वे, वी फाइट आवर वे । हाम्रै तरिकाले लड्ने हो । तर एकै दिन उल्टाउन सकिँदो रहेछ भन्ने कुरा उनीहरुले सिकाएका छन्,’ उनले भने ।




प्रतिक्रिया