नेपाल-भारत आवतजावत थप सहज बनाइँदै: राष्ट्रिय परिचयपत्रलाई यात्रा अनुमति दिन नेपालको आग्रह


काठमाडौ । नेपाल सरकारले राष्ट्रिय परिचयपत्र (एनआईडी)का आधारमा पनि नेपाली नागरिकलाई भारत प्रवेशको अनुमति दिन भारत सरकारसँग औपचारिक अनुरोध गरेको छ।

गृह मन्त्रालय अन्तर्गतको अध्यागमन विभागले नागरिकता र राहदानी (पासपोर्ट)सँगै राष्ट्रिय परिचयपत्रलाई पनि यात्रा प्रयोजनका लागि मान्यता दिन परराष्ट्र मन्त्रालयमार्फत भारत सरकारलाई दुई साताअघि अनुरोध पठाएको जनाएको छ।

अध्यागमन विभागका निर्देशक तथा प्रवक्ता टीकाराम ढकालका अनुसार भारतबाट यस विषयमा औपचारिक जवाफ आउन बाँकी छ। नेपाल र भारतबीच खुला सीमा व्यवस्था रहेकाले दुवै देशका नागरिकले भिसाबिनै एकअर्काको देशमा आवतजावत गर्न पाउने व्यवस्था छ। हाल नेपाली नागरिकले नागरिकता वा राहदानी देखाएर भारत प्रवेश गर्न सक्ने व्यवस्था रहेको छ।

नेपालले अब राष्ट्रिय परिचयपत्रलाई पनि मान्यता दिन आग्रह गरेको हो। भारतले प्रस्ताव स्वीकार गरे नेपाली नागरिकले नागरिकता, राहदानी वा राष्ट्रिय परिचयपत्रमध्ये कुनै एक परिचयपत्रका आधारमा भारत आउजाउ गर्न सक्नेछन्।

निर्देशक ढकालका अनुसार गत साता काठमाडौंस्थित भारतीय दूतावासका सम्बन्धित अधिकारीसँग यस विषयमा छलफल पनि भएको थियो। छलफलका क्रममा राष्ट्रिय परिचयपत्रका आधारमा आवतजावत सहज बनाइदिन आग्रह गरिएको र भारतीय पक्षको प्रतिक्रिया सकारात्मक रहेको उनले बताए।

भारतको औपचारिक निर्णय आएपछि राष्ट्रिय परिचयपत्रलाई यात्रा परिचयपत्रका रूपमा प्रयोग गर्ने व्यवस्था कार्यान्वयन हुने अपेक्षा गरिएको छ।