नागढुङ्गा सुरुङमार्ग उद्घाटन : तीन महिना परीक्षण, तत्काल अत्यावश्यक सवारीलाई मात्र प्रवेश


काठमाडौँ । उपत्यकाको पश्चिमी प्रवेशद्वारका रूपमा रहेको बहुप्रतीक्षित नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको औपचारिक उद्घाटन गरिएको छ। पूर्वाधार विकासमन्त्री सुनिल लम्साल, नेपालका लागि जापानी राजदूत मायदा तोरु तथा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का अध्यक्ष डा. तानाका अकिहिकोको विशेष उपस्थितिमा आयोजित एक समारोहबिच सुरुङमार्गको उद्घाटन गरिएको हो।

औपचारिक रूपमा उद्घाटन भए पनि सुरुङमार्ग तत्कालै सर्वसाधारणका सबै प्रकारका सवारीसाधनका लागि भने खुला नगरिने भएको छ। आयोजनाका उपनिर्देशक सञ्जय पन्थीका अनुसार सुरुवाती चरणमा अत्यावश्यक सेवाका सवारीसाधनलाई मात्र प्राथमिकताका साथ सञ्चालन अनुमति दिइनेछ।

“सुरुमा एम्बुलेन्स, दमकल, सुरक्षा निकायका सवारी तथा अन्य अत्यावश्यक सेवालाई मात्र आवतजावत गर्न दिइनेछ,” उपनिर्देशक पन्थीले भने, “करिब तीन महिनासम्म ‘ट्रायल ओपनिङ पिरियड’का रूपमा परीक्षण सञ्चालन गरिनेछ। यस अवधिमा सुरक्षा तथा ट्राफिक व्यवस्थापनको सूक्ष्म मूल्याङ्कन गरेपछि मात्र अन्य सवारीसाधनलाई चरणबद्ध रूपमा प्रवेश दिइने योजना छ।”

देशकै पहिलो आधुनिक यातायात सुरुङमार्गका रूपमा रहेको यो आयोजनाले तीन फरक सरकार र नेतृत्वको यात्रा तय गरेको छ। यस आयोजनाको शिलान्यास तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए भने मुख्य सुरुङको ‘ब्रेकथ्रु’ तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालको कार्यकालमा भएको थियो। अहिले प्रधानमन्त्री बालेन शाहको कार्यकालमा आएर सुरुङमार्ग औपचारिक रूपमा सञ्चालनमा आएको हो।

आयोजनाले दिएको जानकारीअनुसार तीन महिनाको परीक्षण अवधिभर सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट कुनै पनि प्रकारको शुल्क लिइने छैन। नियमित सञ्चालन सुरु भएपछि भने सवारीसाधनको वर्गीकरणअनुसार तोकिएको शुल्क लागू हुनेछ।

सडक विभागले तय गरेको शुल्क संरचनाअनुसार:

  • कार तथा भ्यान: काठमाडौँ प्रवेश गर्दा रु. ६५ र बाहिरिँदा रु. ६०।
  • मिनीबस, ट्रक तथा टिपर: काठमाडौँ प्रवेश गर्दा रु. ११५ र बाहिरिँदा रु. ८०।
  • बस तथा ठूला ट्रक: काठमाडौँ प्रवेश गर्दा रु. २६० र बाहिरिँदा रु. २००।

यसअघि मन्त्रिपरिषद् बैठकले सवारीसाधनको प्रकृति र आकारका आधारमा रु. ६० देखि अधिकतम रु. ६०० सम्म शुल्क निर्धारण गर्ने निर्णय गरिसकेको छ।

सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै सुरुङमार्गभित्र केही प्रकारका सवारी र पैदलयात्रीलाई प्रवेश पूर्णरूपमा निषेध गरिएको छ।

सुरुङमार्गमा पैदलयात्री, मोटरसाइकल, स्कुटर, र तीनपाङ्ग्रे सवारीसाधन सञ्चालन गर्न पाइने छैन। यसैगरी डिजेल, पेट्रोल, ग्यासलगायतका प्रज्ज्वलनशील पदार्थ वा विस्फोटक सामग्री बोकेका ढुवानीका साधनलाई पनि सुरक्षाका कारण सुरुङमार्ग प्रयोग गर्न अनुमति नदिइने आयोजनाले स्पष्ट पारेको छ।