सुनसरी घटनापछि रास्वपा नेता मियाँको अपिल :’धार्मिक सहिष्णुता जोगाउन सबै सचेत बनौँ’


काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको झडपपछि सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा युवा अभियन्ता नुर मोहम्मद मियाँले धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न सबै पक्षलाई आग्रह गरेका छन्।

आइतबार राति भएको दुई समूहबीचको झडपमा एक जनाको मृत्यु भएको थियो भने ९ जना सर्वसाधारण, १० जना नेपाल प्रहरी र ५ जना सशस्त्र प्रहरी गरी २४ जना घाइते भएका थिए। घटनापछि प्रतिक्रिया दिँदै नेता मियाँले यस्ता गतिविधिले समाजमा विभाजन र अशान्ति निम्त्याउने भन्दै चिन्ता व्यक्त गरेका हुन्।

मियाँले धार्मिक असहिष्णुता र अराजक गतिविधि बढ्नु देशका लागि शुभ संकेत नभएको बताएका छन्। उनले राज्य, राजनीतिक दल र सम्बन्धित निकाय समयमै सचेत भएर घटनाको निष्पक्ष छानबिन गरी कानुनअनुसार कारबाही गर्नुपर्नेमा जोड दिएका छन्।

“नेपाल सबैको साझा देश हो, यो सुन्दर फूलबारी हो। तर आज यस्ता समाचार सुन्दा मनमा धेरै प्रश्नहरू उठ्छन्—किन, केका लागि र कसले यस्तो गरिरहेका छन्?” मियाँले भनेका छन्।

उनले समाजमा हरेक नागरिकले आफ्नो धर्म, आस्था र पहिचानसहित भयमुक्त भएर बाँच्न पाउने अधिकार सुनिश्चित हुनुपर्ने बताए। “सबै धर्म, आस्था र समुदायप्रति सम्मान कायम गर्दै धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई बलियो बनाउन आवश्यक छ,” उनले भनेका छन् ।

यसैबीच, घटनाको सत्यतथ्य पत्ता लगाउन गृह मन्त्रालयले सहसचिव भुपेन्द्र थापाको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ। समितिलाई एक साताभित्र प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ ।