ट्रम्पसँगको भेटपछि जेलेन्स्की आशावादी


वासिङ्टन, १३ साउन । युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटवार्तापछि युक्रेनको हवाई सुरक्षा सुदृढ बनाउन प्याट्रियट हवाई रक्षा प्रणालीको सहउत्पादन र उत्पादन इजाजतपत्र प्राप्त हुनेमा आशावाद व्यक्त गरेका छन् ।

उनले रूसविरुद्धको युद्धमा युक्रेनको प्रतिरक्षा क्षमता मजबुत बनाउन अमेरिकी सहयोग अत्यन्त महत्त्वपूर्ण रहेको बताउँदै ठूलो मानवीय तथा सैन्य क्षतिका कारण युद्धको मोर्चामा रूसको रणनीतिक अग्रता कमजोर बन्दै गएको दाबी गरेका छन् ।

ह्वाइट हाउसमा एक घण्टाभन्दा बढी चलेको भेटवार्तापछि फक्स न्युजसँगको अन्तर्वार्तामा राष्ट्रपति जेलेन्स्कीले राष्ट्रपति ट्रम्पसँग निकै सकारात्मक छलफल भएको बताए । उनका अनुसार ट्रम्पले प्याट्रियट हवाई रक्षा प्रणाली उत्पादनका लागि आवश्यक इजाजतपत्र उपलब्ध गराउने सहमति जनाएका छन् । त्यसपछि आफूले अमेरिकाका प्रमुख रक्षा उद्योगका प्रतिनिधिसँग पनि भेट गरी सहउत्पादनको सम्भावनाबारे छलफल गरेको जानकारी दिए ।

भेटपछि राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमार्फत बैठक निकै सफल भएको उल्लेख गर्दै दुवै पक्षबीच धेरै महत्त्वपूर्ण विषयमा छलफल भएको जनाएका थिए ।

युक्रेन र रूसबीचको युद्ध अन्त्यका लागि अमेरिकी नेतृत्वमा भएका कूटनीतिक प्रयास प्रभावकारी हुन नसकिरहेका बेला दुवै पक्षले लामो दूरीका आक्रमण तीव्र बनाएका छन् । यस्तो अवस्थामा युक्रेनले विशेषगरी ब्यालिस्टिक मिसाइल रोक्न सक्ने प्याट्रियट प्रणालीको थप आपूर्ति र उत्पादन क्षमता विस्तारलाई प्राथमिकतामा राखेको छ ।

भेटअघि एएफपीसँग कुरा गर्दै एक वरिष्ठ युक्रेनी अधिकारीले युक्रेनको प्रमुख आवश्यकता थप एन्टी–ब्यालिस्टिक मिसाइल प्राप्त गर्नु र युद्ध अन्त्यका लागि कूटनीतिक पहललाई पुनर्जीवित गर्नु रहेको बताएका थिए । संयुक्त राष्ट्रसङ्घका अनुसार गत महिना अप्रिल २०२२ यताकै सबैभन्दा बढी युक्रेनी नागरिकको ज्यान जाने महिना बनेको छ र यसको प्रमुख कारण रूसले ब्यालिस्टिक मिसाइल आक्रमण बढाउनु हो ।

गत वर्ष पुनः सत्तामा फर्किएपछि राष्ट्रपति ट्रम्पले युक्रेनलाई अमेरिकी हतियारको प्रत्यक्ष आपूर्ति रोक्दै युरोपेली मुलुकमार्फत खरिदको नीति अघि बढाएका थिए । यद्यपि अमेरिका अझै पनि युक्रेनको प्रमुख साझेदारका रूपमा खुफिया सूचना र स्टारलिङ्क स्याटेलाइट सञ्चार प्रणालीमा पहुँच उपलब्ध गराइरहेको छ ।

फेब्रुअरी २०२५ मा ह्वाइट हाउसमा भएको तीव्र सार्वजनिक विवादपछि चिसिएको ट्रम्प–जेलेन्स्की सम्बन्ध पछिल्ला महिनामा उल्लेखनीय रूपमा सुधारिएको छ । यसै महिनाको सुरुआतमा भएको भेटमा ट्रम्पले जेलेन्स्कीको नेतृत्वको प्रशंसा गर्दै प्याट्रियट मिसाइल उत्पादनसम्बन्धी सहकार्यको प्रस्ताव अघि सारेका थिए । गत साता जेलेन्स्कीले ट्रम्पका विशेष दूत स्टिभ विटकफ र जारेड कुसनरसँग पनि युक्रेनसम्बन्धी कूटनीतिक प्रक्रिया कसरी पुनः सक्रिय बनाउने भन्ने विषयमा छलफल गरेका थिए ।

वासिङ्टन भ्रमणका क्रममा जेलेन्स्की हालै निधन भएका युक्रेन समर्थक रिपब्लिकन सिनेटर लिन्डसे ग्राहमको स्मृति समारोहमा सहभागी भएका थिए । त्यसपछि उनले रूसमाथि थप प्रतिबन्ध लगाउने द्विदलीय विधेयकसम्बन्धी प्रारम्भिक प्रक्रियागत मतदानअघि अमेरिकी सिनेटरहरूलाई पनि सम्बोधन गरे । ग्राहमले लामो समयदेखि उक्त विधेयकका पक्षमा पहल गरेका थिए । केही प्रावधानप्रति असन्तुष्टि भए पनि द्विदलीय समर्थनसँगै विधेयक अन्तिम स्वीकृतितर्फ अघि बढेको छ ।

यसबीच, युक्रेनले हालै रूसी तेल डिपो, रिफाइनरी र इन्धन ढुवानी पूर्वाधारमा ड्रोन आक्रमण तीव्र बनाएको छ । राष्ट्रपति जेलेन्स्कीले रूसले हरेक महिना करिब ३० हजार सैनिक गुमाइरहेको दाबी गर्दै त्यसका बाबजुद राष्ट्रपति भ्लादिमिर पुटिन युद्ध अन्त्य गर्न इच्छुक नदेखिएको टिप्पणी गरे । उनले युद्धको रणनीतिक पहल अब पुटिनको नियन्त्रणमा नरहेको दाबी पनि गरे ।

जेलेन्स्की र ट्रम्पबीचको भेट हुनुअघि युक्रेनले रूसभित्र सयौँ ड्रोन प्रहार गरेको थियो । त्यसको जवाफमा रूसले रातारात युक्रेनमाथि एक सयभन्दा बढी ड्रोन प्रहार गर्नुका साथै ओडेसा बन्दरगाह र कृषि निर्यातसँग सम्बन्धित पूर्वाधारमा आक्रमणलाई निरन्तरता दिएको छ । रासस