काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले शिष्टाचार भेटघाट गरेका छन्।
सभामुख अर्यालले बिहीबार राष्ट्रपति भवन, शीतलनिवास पुगेर राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेका हुन्। भेटका क्रममा समसामयिक राजनीतिक परिस्थिति, सङ्घीय संसदका गतिविधि तथा संसदीय अभ्यासका विविध पक्षमा गहन विचार–विमर्श भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ।
विगत १४ दिनदेखि अवरुद्ध वा स्थगित रहेको प्रतिनिधिसभाको बैठक आज पुनः बस्नुअघि सभामुख अर्याल राष्ट्रपतिलाई भेट्न शीतलनिवास पुगेका हुन्। भेटमा सभामुखले राष्ट्रपति पौडेललाई पछिल्ला राजनीतिक घटनाक्रम र संसदीय काम-कारबाहीबारे जानकारी गराएका थिए।
यसअघि बुधबार मात्रै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पनि राष्ट्रपति पौडेलसँग शीतलनिवास पुगेर भेटवार्ता गरेका थिए। संसदको बैठक सुरु हुनुअघि शीर्ष तहमा भइरहेका यी शृङ्खलाबद्ध भेटघाटलाई राजनीतिक वृत्तमा महत्त्वका साथ हेरिएको छ।




प्रतिक्रिया