सिन्धुपाल्चोक । मध्यपहाडी लोकमार्ग निर्माण र विस्तारले पहाडी जीवनमा सुगमता त ल्याएको छ, तर प्राविधिक दूरदर्शिता र वातावरणीय प्रभावको उपेक्षा गर्दा स्थानीय बासिन्दाका लागि यही विकास विनाशको कारक बन्न थालेको छ।
इन्द्रावती गाउँपालिका–६, सिन्धुपाल्चोकस्थित सिपातीनघरे बेंशीको नौबीसे फाँटक्षेत्रमा मध्यपहाडी लोकमार्ग आयोजना र सडक विभागको बेवास्ताका कारण अहिले त्यस क्षेत्रको उब्जाउयोग्य गलखेत र ऐतिहासिक सांस्कृतिक धरोहरसमेत सङ्कटको जोखिममा परेका छन्।
वर्षाद्को समयमा लोकमार्गको भित्तो-भित्तो पानीको उचित निकास नगरिँदा तल्लो क्षेत्रका उर्वर भूमि र सडकसमेत कटान भइरहेको छ। यदि आयोजनाले बेलैमा राजमार्गको भित्तो-भित्तो नाली निर्माण गरेर वर्षाको पानीलाई रिपेनी र मङ्सिरे खोलामा सुरक्षित रूपमा कटाउने व्यवस्था नगर्ने हो भने आगामी दिनमा नौबीसे फाँटका दर्जनौँ किसानका खेत बाढी र पहिरोको चपेटामा पर्ने स्थानीयको भनाइ छ ।
पहाडी भू-भागमा सडक निर्माण गर्दा पानीको निकास (ड्रेनेज म्यानेजमेन्ट) लाई सबैभन्दा संवेदनशील मानिन्छ। तर मध्यपहाडी लोकमार्ग निर्माणका क्रममा प्राविधिक मापदण्डलाई बेवास्ता गरिँदा अहिले त्यसको प्रत्यक्ष असर स्थानीय किसानले भोग्नुपरेको छ। वर्षात् शुरु भएसँगै सडकबाट अनियन्त्रित रूपमा बग्ने भेलले कटान गर्दै पहिरोको रूप लिन थालेको छ।
इन्द्रावती–६ का स्थानीय बासिन्दाहरूका अनुसार सडक निर्माणका क्रममा नौबीसे फाँटमाथि नाली निर्माणलाई प्राथमिकता नदिँदा पानी सीधै फाँटतिर झर्ने गरेको हो।
यस क्षेत्रमा लोकमार्गको माथितिर तीनघरेको ठूलो जंगलदेखि ओइरिएर आउने भेल सीधै सडक र खेततिर पस्ने गरेको छ । यसले गर्दा नौबीसे फाँटका सयौँ रोपनी उब्जाउ खेतहरू बालुवा र भेलले पुरिने तथा पहिरोले बगाउने जोखिम तीव्र बनेको हो। समयमै राजमार्गको भित्तोमा नाली बनाएर सो पानीलाई नजिकैका प्राकृतिक खोलाहरूमा मिसाउने काम नभए स्थानीयको जीविकोपार्जनको मुख्य आधार मानिने धानखेत सखाप हुने स्थिति छ।
मध्यपहाडी लोकमार्गको लापर्बाही र प्राविधिक त्रुटिका कारण स्थानीय संस्कृतिको धरोहर मानिने ऐतिहासिक खड्पुरेश्वर महादेव मन्दिरसमेत जोखिममा पर्ने सम्भावना बढेको छ । वर्षौँ पुरानो आस्थाको केन्द्र यो मन्दिर क्षेत्रमा समेत वर्षाको भलबाढी पुग्न थालेको छ ।
सिपातीनघरे संस्कृत माध्यमिक विद्यालयका पूर्वप्रधानाध्यापकसमेत रहेका स्थानीय समाजसेवी रामप्रसाद न्यौपानेका अनुसार सडक विभाग र ठेकेदार कम्पनीको चरम बे-वास्ताले गर्दा सांस्कृतिक सम्पदा र स्थानीयको उब्जाउ भूमि जोखिममा परेको हो। ‘विकासका नाममा विनाश निम्त्याउने काम भएको छ,’ न्यौपाने भन्छन्, ‘राजमार्गको भित्तो नाली बनाएर पानीलाई रिपेनी र मङ्सिरे खोलामा नझारेसम्म यो समस्या हल हुँदैन। ठेकेदार र आयोजनाले अटेर गरिरहे नौबीसे फाँटसँगै खड्पुरेश्वर महादेव मन्दिरले पनि आगामी दिनमा प्राकृतिक प्रकोपको सामना गर्नुपर्छ ।’
यसपालिको वर्षाको भेलबाढीले इन्द्रावती गाउँपालिका वडा नं. ६ स्थित सिपातीनघरे जाने मुख्य बाटो र मध्यपहाडी लोकमार्गको तल्लो छेउमा पानीको कटान यति तीव्र बनेको छ कि स्थानीयले प्रयोग गर्दै आएको बाटो नै छिनाल्ने अवस्थामा पुगेको छ। भलबाढी र पहिरो फेरि खसेमा तीनघरे जाने यातायातका साधन नै अवरुद्ध हुने खतरा आउन सक्ने सम्भावना छ ।
स्थानीय बासिन्दाहरूले पटक–पटक सडक विभाग, मध्यपहाडी लोकमार्ग निर्माण आयोजना र स्थानीय जनप्रतिनिधिको ध्यान आकर्षित गराउँदै आएका छन्। तर, सबै निकायहरू एकापसमा जिम्मेवारी पन्छाएर मौन बसिदिँदा समस्या दिनप्रतिदिन भयावह बन्दै गएको हो।
सडकको भित्तोमा नाली खनेर रिपेनी र मङ्सिरे खोलामा पानी कटाउन ठूलो बजेट र जटिल प्रविधि आवश्यक पर्दैन। केवल आयोजनाको इच्छाशक्ति र जिम्मेवारपूर्ण कामको खाँचो छ। तर आयोजनाको लापर्बाहीका कारण अहिले सडकको तल्लो भाग पूरै लडेर राजमार्ग आफैँ पनि भासिने खतरा बढेको छ। यदि निरन्तरको भलले बाटो छिनाल्यो भने स्थानीयको आवतजावत मात्र रोकिने छैन, मध्यपहाडी राजमार्गको यो खण्ड पनि अवरुद्ध हुन पुग्नेछ।
विकास निर्माणका आयोजनाहरू नागरिकको सहजताका लागि हुनुपर्छ, उनीहरूको उठिबास गराउनका लागि होइन। सिपातीनघरे र नौबीसे फाँटको समस्या केवल एउटा वडा वा टोलको मात्र होइन, यो समग्र सडक पूर्वाधार निर्माणमा देखिने गैरजिम्मेवारपनको ज्वलन्त उदाहरण हो।
यसैबीच, स्थानीयको हारगुहारपछि समस्या समाधानका लागि इन्द्रावती गाउँपालिकाले डोजर पठाए पनि तीनघरे जाने मोडमा कडा चट्टान भएको हुनाले डोजरले काम गर्न नसकी फर्केको छ । गाउँपालिकासँग कडा चट्टान काट्न सक्ने अरु कुनै उपकरण नरहेको बताइएको छ ।
लोकमार्गबाट तीनघरे जाने सडकको मोड पनि हाल ‘भी’ आकारमा भएकाले कटिङ गरेर ‘यु’ आकारमा लैजान सके मात्रै मोड फराकिलो हुने र ठूला गाडीहरुलाई मोडिन सहज हुने स्थानीय समाजसेवी खिलप्रसाद आचार्य बताउँछन् ।
स्थानीय बासिन्दा तथा समाजसेवीहरूले सडक विभाग र मध्यपहाडी लोकमार्ग निर्माण आयोजनालाई अविलम्ब स्थलगत निरीक्षण गरी तत्काल निम्न कदम चाल्न जोडदार माग गरेका छन्-
१. भित्ते नाली तत्काल निर्माण– राजमार्गको भित्तो भएर बग्ने भेललाई नियन्त्रण गर्न अविलम्ब नाली निर्माण गर्नुपर्ने ।
२. प्राकृतिक खोलामा पानीको निकास– वर्षाको भलपानीलाई सुरक्षित रूपमा रिपेनी खोला र मङ्सिरे खोलामा लगेर मिसाउनुपर्ने।
३. पहिरो नियन्त्रण र तटबन्धन– कटान भइसकेका क्षेत्रहरू, विशेष गरी सिपातीनघरे जाने बाटो मुनिको लोकमार्ग आसपासमा ग्याबियन जाली तथा पर्खाल लगाएर संरक्षण गर्नुपर्ने।
४. क्षतिपूर्तिको व्यवस्था– आयोजनाको लापर्बाहीका कारण खेतमा क्षति पुगेका किसानलाई उचित क्षतिपूर्ति दिनुपर्ने, र
५. कुलो मर्मत- पहिरोले क्षति पुर्याएको नौबीसेको फाँटमा जाने कुलो मर्मत गरी पानी सुचारु गरिदिनुपर्ने ।
सडक विभाग र मध्यपहाडी आयोजनाले अविलम्ब स्थलगत अध्ययन गरी उक्त समस्या समाधान गरिदिन स्थानीय बासिन्दाले जोडदार माग गरेका छन् ।












प्रतिक्रिया