काठमाडौं, भदौ ५ । तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा संलग्न दोषीलाई कडा कारबाही गर्न माग गर्दै स्वतन्त्र नागरिक अभियान नेपालका संयोजक तथा वरिष्ठ पत्रकार ऋषि धमलाले प्रधानमन्त्री र गृहमन्त्रीको ध्यानाकर्षण गराएका छन्।
धमलाले बिहीबार घटनास्थल पुगेर पीडित परिवारसँग भेट गरेका थिए। सिमरामा पुग्दा आफूले देखेको अवस्था अत्यन्तै पीडादायी रहेको उनले बताए ।
शुक्रबार बिहान एक भिडियो सन्देश जारी गर्दै धमलाले गरिमाको हत्या सामान्य आपराधिक घटना नभएको भन्दै दोषीलाई कुनै पनि हालतमा उन्मुक्ति दिन नहुने बताए। उनले संविधान संशोधन गरेर भए पनि यस्ता जघन्य अपराधमा मृत्युदण्डको व्यवस्था गर्नुपर्ने माग गरेका छन्।
‘तीन वर्षीया अबोध बालिकामाथि बलात्कार गरेर हत्या गरिएको छ। यस्तो जघन्य अपराध गर्ने अपराधीलाई कडा भन्दा कडा सजाय हुनुपर्छ,’ धमलाले भनेका छन्, ` संविधान संशोधन गरेर भए पनि मृत्युदण्डको व्यवस्था गर्नुपर्छ।’
धमलाले प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री सुधन गुरुङलाई गरिमा चौधरीलाई न्याय दिनसमेत आग्रह गरे । त्यस्तै , विगतमा भएका महिला तथा बालिकामाथिका हिंसाका घटनामा दोषीलाई कडा सजाय हुन नसक्दा यस्ता घटना दोहोरिँदै आएको धमलाको भनाइ छ ।
‘विगतमा भएका यस्ता घटनाका दोषीलाई कडा सजाय हुन नसक्दा समाजमा महिला हिंसा घट्न सकेको छैन,’ धमलाले भनेका छन्, ‘दोषीलाई कानुनको कठघरामा ल्याएर कडा सजाय दिने र पीडित परिवारलाई न्याय राज्यले गर्नुपर्छ।’




प्रतिक्रिया