बैतडी, ५ भदौ । मेलौलीमा इलाका प्रशासन कार्यालय स्थापना भएसँगै स्थानीयवासीलाई प्रशासनिक सेवा लिन सहज भएको छ । कार्यालय स्थापनापछि मेलौली नगरपालिकासहित शिवनाथ र पञ्चेश्वर गाउँपालिकाका नागरिकलाई जिल्ला सदरमुकाम धाउनुपर्ने बाध्यता हटेको हो ।
यसअघि नागरिकता, नागरिकताको प्रतिलिपि र राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला सदरमुकाम पुग्नुपर्ने बाध्यता थियो । गत वैशाख २४ गते इलाका प्रशासन कार्यालय स्थापना भएपछि स्थानीयवासीले यी सेवासहित अन्य प्रशासनिक सेवा पनि मेलौलीबाटै लिन पाएका छन् । मेलौली नगरपालिका–८ का शम्भुसिंह विष्टले कार्यालय स्थापनापछि प्रशासनिक सेवा लिन सहज भएको बताए ।
“नागरिकतालगायतका प्रशासनिक कामका लागि सदरमुकाम धाउनुपर्ने बाध्यता थियो । एक दिनभन्दा बढी समय लाग्थ्यो,” पञ्चेश्वर गाउँपालिका–१ का सुरेशराम सार्कीले भने, “कार्यालय स्थापनापछि समय र खर्च बचत हुनुका साथै आवतजावतको झन्झटसमेत हटेको छ ।”
इलाका प्रशासन कार्यालयले नागरिकता, नागरिकताको प्रतिलिपि, राष्ट्रिय परिचयपत्र र नाबालक परिचयपत्र वितरणलगायत सेवा प्रदान गर्दै आएको छ । इलाका प्रशासन कार्यालय मेलौलीका प्रमुख महेश भट्टका अनुसार हालसम्म एक हजार ७७ जनाले नागरिकता र ३३८ जनाले नागरिकताको प्रतिलिपि लिएका छन् । यस्तै, राष्ट्रिय परिचयपत्रका लागि एक हजार ३२५ जनाको विवरण सङ्कलन गरिएको छ भने ९२ जनालाई राष्ट्रिय परिचयपत्र वितरण गरिएको छ ।
नियमित सेवा प्रवाह हुन थालेपछि दुर्गम क्षेत्रका नागरिकलाई प्रशासनिक सेवा लिन सहज भएको प्रमुख भट्टले बताए । “दैनिक सेवाग्राहीको चाप बढी नै हुने गरेको छ,” उनले भने, “जनशक्ति अभावका बीच पनि कार्यालयले नियमित सेवा प्रवाह गरिरहेको छ ।” कार्यालयले बजार अनुगमनलगायतका प्रशासनिक कामसमेत गर्दै आएको प्रमुख भट्टले जानकारी दिए ।




प्रतिक्रिया