गल्छी अस्पताल पुनः सञ्चालनका लागि तरुण दलको सरसफाइ अभियान तीव्र


धादिङ । नेपाल तरुण दलले भदौ १० गते आएको भीषण बाढीबाट प्रभावित धादिङको गल्छी अस्पताल पुनः सञ्चालनमा ल्याउन सरसफाइ तथा आवश्यक व्यवस्थापनको काम तीव्र बनाएको छ।

तरुण दलका केन्द्रीय अध्यक्ष मनिष कोइरालाको नेतृत्वमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, विपद् व्यवस्थापन समितिका संयोजक सिंहविक्रम पाण्डेलगायत तरुण युवा तथा स्वयंसेवकको सहभागितामा अस्पतालको सरसफाइ भइरहेको हो।

बाढीबाट प्रभावित क्षेत्रमा खटिएको तरुण दलको टोलीले अस्पताल परिसरमा जमेको हिलो तथा फोहोर हटाउने, सरसफाइ गर्ने र आवश्यक व्यवस्थापनको काम गरिरहेको छ। अस्पताललाई भोलिसम्म पुनः सञ्चालनमा ल्याउने लक्ष्यका साथ सरसफाइ कार्य अन्तिम चरणमा पुगेको तरुण दलले जनाएको छ ।

यसै क्रममा तरुण दलले करिब ७ सयभन्दा बढी बाढीपीडितलाई लत्ताकपडासमेत वितरण गरेको छ।


तरुण दल धादिङका जिल्ला अध्यक्ष शंकर धमलाले अस्पतालको बाँकी सरसफाइ कार्य आगामी दुई दिनभित्र सम्पन्न गर्ने लक्ष्यसहित टोली निरन्तर खटिरहेको बताए।

उनले विपद्को समयमा तरुण युवा जनसेवामा समर्पित भएर प्रभावित नागरिकको साथमा रहेको बताउँदै अभियानमा सहयोग गर्ने सबैप्रति धन्यवाद व्यक्त गरेका छन्।