राहत सामग्री र जनशक्ति बोकेर नेपाल आउँदै अस्ट्रेलियन एयरफोर्सको विमान


काठमाडौँ । अस्ट्रेलिया सरकारले नेपालमा आएको विनाशकारी बाढीको प्रतिकार्यस्वरूप उद्धार तथा मानवीय सहायता सामग्री पठाउने भएको छ।

अस्ट्रेलियाली रक्षा मन्त्रालयले राहत सामग्री, उपकरण र जनशक्ति बोकेको रोयल अस्ट्रेलियन एयर फोर्सको सी-१७ए ग्लोबल मास्टर ३ नेपालमा पठाउन लागेको हो ।

नेपालले बेहोरिरहेको विपद्‌मा सिङ्गो अस्ट्रेलिया सरकारको साझा प्रतिकार्य अन्तर्गत यो सहयोग उपलब्ध गराउन लागिएको विदेश मन्त्रालयले जनाएको छ ।

अस्ट्रेलियाली रक्षा बलले त्यहाँको परराष्ट्र तथा व्यापार मन्त्रालयलाई सघाउँदै उक्त ट्रान्सपोर्ट विमान उपलब्ध गराएको हो।

रक्षा मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार, मानवीय सहायता तथा विपद् राहत सामग्री, आवश्यक उपकरण र जनशक्ति बोकेको उक्त विमान केही दिनभित्रै अस्ट्रेलियाबाट नेपालतर्फ प्रस्थान गर्नेछ।