सवारी आवागमन व्यवस्थापनमा सहयोग गर्न आग्रह


बागमती। जिल्ला प्रशासन कार्यालय, मकवानपुरले काठमाडौँ-हेटौँडा सञ्चालन भइरहेका सवारीसाधनको आवागमनको व्यवस्थापन सहज बनाउन सम्बन्धित सबैमा आग्रह गरेको छ।

प्रशासनका तर्फबाट प्रशासकीय अधिकृत सन्तोष सुवेदीले आज सूचना जारी गर्दै पृथ्वीराजमार्गअन्तर्गत धादिङ जिल्लाको कृष्णभीरमा सडक अवरुद्ध भएको एवं मकवानपुरको हेटौँडा हुँदै विभिन्न राजमार्ग प्रयोग गरी आवागमन गर्ने सवारीसाधनको अत्यधिक चाप बढेको उल्लेख गरेका छन्।

वर्तमान अवस्थामा हेटौँडाबाट काठमाडौँतर्फ जाने अन्य वैकल्पिक मार्गहरूको क्षमता तथा यात्रुको सुरक्षा समेतलाई ध्यानमा राख्दै विगत दुई दिनको ट्राफिक व्यवस्थापनको अवस्थालाई विश्लेषण गरी सवारी आवागमनलाई सहज, सुरक्षित तथा व्यवस्थित बनाउन आग्रह गरिएको सूचनामा भनिएको छ।

प्रशासनले १० चक्कासम्मका सम्पूर्ण मालबाहक तथा ठूला यात्रुबाहक सवारीसाधनहरू त्रिभुवन राजपथ हुँदै काठमाडौतर्फ जान र फर्किंदा कान्ति राजमार्ग हुँदै फर्किने व्यवस्था मिलाउ आग्रह गरेको छ । मौसम, बाटोलगायत यात्रुहरूको सुरक्षालाई समेत मध्यनजर गर्दै कान्ति राजमार्ग हुँदै हेटौँडातर्फ आउने यात्रुवाहक सवारीसाधन अनिवार्य रूपमा साँझ ६ः०० बजे भित्रमा मकवानपुर जिल्लाको इलाका प्रहरी कार्यालय ठिङ्गन चेकपोष्ट पार गर्न प्रशासकीय अधिकृत सुवेदीले अनुरोध गरे।

त्यस्तै १४ सिटभन्दा कम क्षमता भएका साना यात्रुबाहक सवारीसाधन हेटौँडातर्फ आउँदा फर्पिङ-फाखेल-कुलेखानी हुँदै भीमफेदीतर्फ आउने तथा काठमाडौँतर्फ जाँदा भीमफेदी-कुलेखानी-सिस्नेरी-दक्षिणकाली हुँदै जाने व्यवस्था मिलाउन प्रशासनले आग्रह गरेको छ । मकवानपुरको त्रिखण्डी नजिक रहेको बेलिब्रिजको भारवहन क्षमता कमजोर रहेकाले इन्धन तथा भारी मालवाहक सवारीसाधनले उक्त बेलिब्रिज प्रयोग नगरी सँगै रहेको डाइभर्सन हुँदै जानुपर्ने सूचनामा उल्लेख छ।

विपद्जन्य समय भएकोले अत्यावश्यक अवस्थामा मात्र यात्रा गर्न, कुनै पनि राजमार्गमा सवारी चालकले धैर्य एवं अनुशासनपूर्वक आफ्नो पालोमा मात्र सवारी सञ्चालन गर्न, ओभरटेक नगने तथा ट्राफिक व्यवस्थापनमा खटिएका सुरक्षाकर्मी/ट्राफिक प्रहरीको निर्देशन पूर्ण रूपमा पालना गर्न प्रशासनले सबैमा आग्रह गरेको छ।