भोटेकोशी बाढी अपडेट : हालसम्म १ हजार ६६ जनाको शव फेला


काठमाडौं, रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण मंगलबार १७:०० बजे सम्म १ हजार ६६ जनाको शव फेला परेको छ । 

जसमध्ये रसुवामा ४३ जना, नुवाकोटमा १ सय ५१ जना, धादिङमा ५७ जना, चितवनमा ३ सय २१ जना, गोरखामा ६६ जना, तनहुँमा ३८ जना, नवलपरासी पूर्वमा २ सय १६ जना, नवलपरासी पश्‍चिम १ सय ६५ जना र भारतमा ९ जना गरी १ हजार ६६ जनाको शव फेला परेको हो । फेला परेको शवहरू मध्ये १ हजार ५६ को लाशजाँच मुचुल्का सम्पन्न भएको छ भने ५८ वटा शव आफन्तलाई हस्तान्तरण गरिएको छ । 

साथै पहिचान नभएको ९ सय १३ वटा शवहरूको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत अपलोड गरिएको छ । 

बाढी प्रभावित क्षेत्रमा उद्दार, खोजी, राहत वितरण, शव व्यवस्थापन लगायतका कार्यका लागि हालसम्म ७ हजार ९ सय १२ जना प्रहरी कर्मचारीहरू परिचालन गरिएको छ । बाढी प्रभावित क्षेत्रहरूबाट ४ हजार ५ सय ३० जनाको उद्दार गरिएको छ भने हालसम्म बेपत्ता भएका ४ हजार ६ सय ६ जनाको खोजी कार्य भइरहेको छ ।

प्रहरीले बाढीको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा आवश्यक उद्दार एवम् खोजी गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध हटाउने कार्य समेत गरिरहेको छ ।