इजरायलमा केयरगिभरका लागि आवेदन खुल्यो, १ हजार ४६४ जना माग


काठमाडौं, भदौ २३ । नेपाल सरकार र इजरायल सरकारबीच भएको श्रम सम्झौताअनुसार इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा सहायक कामदार (कियर गिभर) का रूपमा जान इच्छुक नेपाली नागरिकका लागि आवेदन खुला गरिएको छ ।

वैदेशिक रोजगार विभागले जारी गरेको सूचनाअनुसार इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा सहायक कामदार छनोटका लागि १ हजार ४६४ जना माग गरिएको हो । मागमध्ये १ हजार १३२ जना महिला र ३३२ जना पुरुष छन् । इच्छुक कामदारले असोज २६ गतेसम्म अनलाइनमार्फत आवेदन दिन सकिने विभागले जनाएको छ ।

यस्ता छन् योग्यता
आवेदक नेपाली नागरिक हुनुपर्नेछ । आवेदन दिने अन्तिम दिनसम्म २५ वर्ष पूरा भई ४५ वर्ष ननाघेको हुनुपर्नेछ । साथै, कम्तीमा १.५ मिटर उचाइ र ४५ किलोग्राम तौल भएको हुनुपर्ने सूचनामा उल्लेख छ ।

शैक्षिक योग्यताका रूपमा कम्तीमा कक्षा १० उत्तीर्ण गरी अनमी वा सीएमए सम्बन्धी विषयमा कम्तीमा १५ महिनाको अध्ययन पूरा गरेको वा १०+२ वा सो सरहको शैक्षिक योग्यता हासिल गरी नेपाल सरकारबाट मान्यता प्राप्त संस्थाबाट केयरगिभिङसम्बन्धी कम्तीमा तीन महिनाको तालिम लिएको हुनुपर्नेछ ।

आवेदकसँग आवेदन दिने अन्तिम मितिसम्म कम्तीमा एक वर्ष अवधि बाँकी रहेको पासपोर्ट हुनुपर्नेछ । त्यसैगरी आवेदक शारीरिक तथा मानसिक रूपमा स्वस्थ हुनुपर्ने र क्षयरोग, हेपाटाइटिस, मिर्गौला, गोनोरिया, एड्सलगायतका रोगबाट संक्रमित नभएको हुनुपर्नेछ ।

छनोट प्रक्रिया लटरीबाट
आवेदन स्वीकृत भएका उम्मेदवारको सूची पीबामा जाँचको लागि पठाइने छ । त्यसपछि सफल उम्मेदवारको सूची विभागको वेबसाइटमा प्रकाशित गरिनेछ र सम्बन्धित स्वास्थ्य संस्थाबाट तोकिएबमोजिम स्वास्थ्य परीक्षण गरिनेछ ।

इजरायलको पीवाले कुल संख्याको करिब ८० प्रतिशत कामदार चिठ्ठा अर्थात् लटरीमार्फत छनोट गर्ने छ। लटरीमा छनोट नभएका उम्मेदवारलाई रोजगार प्रक्रियामा समावेश गर्न नसकिने सूचनामा भनिएको छ ।

छनोट भएका कामदारको रोजगार सम्झौता हस्ताक्षरका लागि विभागले सहजीकरण गर्नेछ । रोजगार सम्झौता भएपछि विभागबाट श्रम स्वीकृति प्रदान गरिनेछ ।

तलबसहित विभिन्न खर्च रोजगारदाताले बेहोर्ने
सूचनाअनुसार इजरायलमा कामदारले मासिक ६ हजार ६४३.५४ इजरायली मुद्रा तलब पाउनेछन्। जसको नेपाली रुपैयाँ ३ लाख २३ हजार रुपैयाँ हुने छ । कामदारले प्रत्येक हप्ता कम्तीमा एक दिन बिदा पाउने र वार्षिक बिदाको व्यवस्था पनि गरिएको छ । खाना सुविधा भने कामदार स्वयंले व्यहोर्नुपर्नेछ ।