रुस र उत्तर कोरियाबिच खुल्यो पहिलो सडक पुल


मस्को । रुस र उत्तर कोरियाबिच पहिलोपटक दुवै देशलाई जोड्ने सडक पुल सञ्चालनमा आएको छ ।

तुमेन नदीमाथि बनेको यो पुलले सीमा क्षेत्रका रुसको खासन र उत्तर कोरियाको रासन सहरलाई जोडेको हो ।

पुल खुलेसँगै अब दुई देशबिच मालसामान र यात्रु आवतजावत गर्न थप सहज हुने भएको छ । उत्तर कोरियाको सरकारी सञ्चारमाध्यमका अनुसार पुललाई जनशक्ति आदानप्रदान, पर्यटन र व्यापारका लागि प्रयोग गरिनेछ ।

रुसी प्रधानमन्त्री मिखाइल मिशुस्तिनले यस पुललाई दुई देशबिचको मित्रताको नयाँ प्रतीक भनेका छन् । उद्घाटन समारोहमा भिडियोमार्फत सहभागी भएका उनले मस्को र प्योङयाङबिचको सम्बन्ध अभूतपूर्व रूपमा उच्च तहमा पुगेको बताए ।

उत्तर कोरियाका प्रधानमन्त्री पाक थाए सङले पुल उद्घाटनलाई ऐतिहासिक घटना भनेका छन् । रुसी सरकारी समाचार संस्था तासका अनुसार दैनिक ३०० वटासम्म सवारीसाधन र २ हजार ३२३ जनाले यो पुल पार गर्न सक्नेछन् ।

करिब एक किलोमिटर लामो पुलसँगै नयाँ पहुँच सडक, सीमा जाँच चौकी, आवश्यक पूर्वाधार र पार्किङ क्षेत्रसमेत निर्माण गरिएको स्याटेलाइट तस्बिरले देखाएको बीबीसीले जनाएको छ । यसअघि रुस र उत्तर कोरियाबिच हवाई तथा रेल सम्पर्क रहे पनि नियमित सडक सम्पर्क भने थिएन । विशेष व्यवस्थामा रेल पुलमाथि काठका फल्याक राखेर कार गुडाउने अस्थायी व्यवस्था मात्र रहेको रोयटर्सले जनाएको छ ।

रुसी सरकारले सुरुमा यो पुलबाट मालसामान ढुवानी गरिने र यस वर्षको अन्त्यतिर यात्रु आवतजावत पनि सुरु हुने जनाएको छ । मिशुस्तिनका अनुसार पुलले व्यापार, आर्थिक, वैज्ञानिक, प्राविधिक तथा सांस्कृतिक सहकार्यको थप विकासमा महत्त्वपूर्ण गति दिनेछ ।

तर पुलको उद्घाटन केवल व्यापारिक दृष्टिले मात्र महत्त्वपूर्ण नभएको विश्लेषण भइरहेको छ । युक्रेनको युद्ध सुरु भएपछि रुस र उत्तर कोरियाबिच सैन्य तथा रणनीतिक सम्बन्ध थप नजिकिएको छ । दुवै देशका नेता भ्लादिमिर पुटिन र किम जोङ उनले कुनै एक देशमाथि आक्रमण वा आक्रामकता भए एक अर्कालाई सहयोग गर्ने प्रतिबद्धता यसअघि जनाएका थिए ।

युक्रेनको ओपन–सोर्स इन्टेलिजेन्स समूह ट्रुथ हाउन्ड्सले भने यो पुल मुख्य रूपमा रुसलाई सहयोग पुर्‍याउन गोप्य सैन्य रसद मार्गका रूपमा प्रयोग गर्ने उद्देश्यले बनाइएको दाबी गरेको छ । दक्षिण कोरियाको गुप्तचर निकायका अनुसन्धानकर्ताहरूका अनुसार उत्तर कोरियाले यसअघि नै पानीजहाजमार्फत रुसलाई अनुमानित ७ देखि १४ अर्ब डलर बराबरका रकेट, क्षेप्यास्त्र र तोपका गोला पठाइसकेको छ । एजेन्सी