एमालेको राष्ट्रिय भेला मंसिर २ र ३ गते, ३ हजारभन्दा बढी सहभागी हुने


काठमाडौँ । नेकपा (एमाले)ले आगामी मंसिर २ र ३ गते आयोजना गर्ने राष्ट्रिय भेलाको तयारी तीव्र पारेको छ । भेलामा विभिन्न तहका नेता, कार्यकर्ता तथा जनप्रतिनिधिसहित ३ हजार १६४ जना सहभागी हुने भएका छन् ।

भेलाको तयारीका लागि पार्टी केन्द्रीय कार्यालयमा उपाध्यक्ष विष्णु पौडेलको प्रमुख आतिथ्यतामा दोस्रो बैठक बसेको छ । बैठकलाई सम्बोधन गर्दै पौडेलले पार्टीको आन्तरिक अवस्था, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थिति र जनजीविकाका विषयमा पार्टी पङ्क्तिमा साझा बुझाइ विकास गर्नु भेलाको मुख्य उद्देश्य रहेको बताए ।

उनले राष्ट्रिय भेलाले पार्टीलाई एकताबद्ध बनाउँदै आगामी स्थानीय तहको निर्वाचनको तयारीमा जुटाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

‘सडकमा जानुपर्दा सडकको तयारी र निर्वाचनमा जानुपर्दा निर्वाचनकै तयारीका साथ अघि बढ्नुपर्छ,’ पौडेलले भने ।

बैठकमा महासचिव शंकर पोखरेलले भेलालाई सफल बनाउन नेता तथा कार्यकर्तालाई सक्रिय हुन आग्रह गरे । पार्टी सचिव तथा सङ्गठन विभाग प्रमुख भानुभक्त ढकालले भेलामा सहभागी हुने प्रतिनिधिहरूको विवरण प्रस्तुत गरेका थिए ।

एमालेका अनुसार भेलामा ३४६ केन्द्रीय सदस्य, विभिन्न कमिटीका प्रतिनिधि, जिल्ला तथा स्थानीय तहका पदाधिकारी, जनप्रतिनिधि र जनसङ्गठनका प्रतिनिधिसहित कुल ३ हजार १६४ जनाको सहभागिता रहनेछ ।