काठमाडौं । नेपालले ‘गाभी, द भ्याक्सिन एलायन्स’बाट राष्ट्रिय नियमित खोप कार्यक्रमका लागि सन् २०३० सम्म ८ अर्ब ५९ करोड रुपैयाँभन्दा बढी सहायता प्राप्त गर्ने भएको छ ।
स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताको सचिवालयले मंगलबार यसबारे जानकारी दिएको हो ।
सचिवालयका अनुसार, आर्थिक वर्ष २०१६/१७ देखि २०२१/२२ सम्मको लेखापरीक्षणका क्रममा प्रक्रियागत त्रुटि देखाउँदै नेपालले फिर्ता गर्नुपर्ने भनिएको ३ लाख ८ हजार २७१ अमेरिकी डलरसमेत मिनाहा गरिएको छ ।
उक्त रकम मिनाहा हुनुले नेपालको राष्ट्रिय खोप कार्यक्रमको वित्तीय व्यवस्थापनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । नेपालले नियमित खोप कार्यक्रममार्फत बालबालिका तथा लक्षित जनसंख्यालाई विभिन्न संक्रामक रोगबाट जोगाउँदै आएको छ ।
सन् २०३० सम्मको सहायता सुनिश्चित हुनु र फिर्ता गर्नुपर्ने रकम मिनाहा हुनुलाई राष्ट्रिय खोप कार्यक्रमको निरन्तरता तथा दिगोपनाका लागि महत्त्वपूर्ण उपलब्धिका रूपमा लिइएको सचिवालयले जनाएको छ ।




प्रतिक्रिया