काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले जेन–जी आन्दोलनले उठाएका मूल माग र जनताले दिएको म्याण्डेटअनुसार सरकारले परिणाम नदिएको बताएका छन्।
जेन–जी युवाहरूले सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्ध फुकुवा, सुशासन कायम, भ्रष्टाचार अन्त्य तथा राज्यका हरेक निकायमा युवाको अर्थपूर्ण प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने मागसहित गत वर्ष भदौ २३ र २४ गते गरेको आन्दोलनको एक वर्ष पूरा भएको अवसरमा घिसिङले यस्तो बताएका हुन्।
घिसिङले आन्दोलनका क्रममा ज्यान गुमाएका सम्पूर्ण सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइते तथा अङ्गभङ्ग भएका र शारीरिक तथा मानसिक पीडा भोगिरहेका सबैको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।
जेन–जी आन्दोलन केवल सरकार परिवर्तनका लागि नभएको उनको भनाइ छ। राजनीतिक संस्कार र शासनशैली परिवर्तन, सुशासन, जवाफदेहिता, भ्रष्टाचारमुक्त शासन तथा युवाको सम्मानजनक सहभागिताका लागि उक्त पुस्ताको आवाज सडकमा आएको उनले बताएका छन्। ‘जेन-जी आन्दोलन केवल सरकार परिवर्तनका लागि भएको आन्दोलन थिएन; यो राजनीतिक संस्कार र शासनशैली परिवर्तन, सुशासन, जवाफदेहिता, भ्रष्टाचारमुक्त शासन र युवाको सम्मानजनक सहभागिताका लागि उठेको पुस्ताको आवाज थियो.’ उनले भनेका छन् ।
आन्दोलनपछि गठन भएको सरकारले गत फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गराएर राजनीतिलाई लोकतान्त्रिक प्रक्रियामा फर्काउने महत्वपूर्ण काम गरेको घिसिङले उल्लेख गरेका छन्। तर, जेन–जी आन्दोलनको म्याण्डेटअनुसार झण्डै दुईतिहाइ जनमत प्राप्त सरकारले अपेक्षाअनुसार परिणाम दिन नसकेको उनको निष्कर्ष छ।उनले भनेका छन्, ‘जेन-जी आन्दोलनको म्याण्डेटअनुसार झण्डै दुईतिहाइ जनमत प्राप्त सरकारले अपेक्षाअनुसार परिणाम दिएको अनुभूति हुन सकेको छैन ।’
सुशासनका क्षेत्रमा केही सकारात्मक प्रयास भए पनि आन्दोलनले उठाएका मूल प्रश्नहरू अझै यथावत् रहेको उनले बताएका छन्।
उनले अब भाषण, घोषणा र राजनीतिक नाराले मात्रै नपुग्ने बताएका छन्। ‘जेन–जी पुस्ताले सडकमा बगाएको रगत, गुमाएको जीवन र उठाएको आवाजको सम्मान परिणामबाट हुनुपर्छ,’ घिसिङले भनेका छन्।




प्रतिक्रिया