काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले जेनजी आन्दोलनको एक वर्ष पूरा भएको दिनलाई स्मृतिमात्रै नभई संकल्पको दिन बनाउनुपर्ने बताएकी छन्।
सामाजिक सञ्जालमार्फत आज उनले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाहरूलाई स्मरण गर्दै आगामी दिनमा त्यस्तो घटना फेरि दोहोरिन नदिने प्रतिबद्धता गर्नुपर्ने बताएकी हुन्।
गत वर्ष भदौ २३ गते सामाजिक सञ्जालमाथिको प्रतिबन्ध, भ्रष्टाचार र कुशासनविरुद्ध जेनजी पुस्ता सडकमा उत्रिएको थियो। आन्दोलनका क्रममा प्रहरीले चलाएको गोली लागेर १९ जना युवाले ज्यान गुमाएका थिए। भोलिपल्ट आन्दोलन थप चर्किएपछि देशभर प्रदर्शन भएको थियो।
मन्त्री गौतमले लोकतान्त्रिक व्यवस्थामा नागरिकलाई असहमति राख्ने, प्रश्न गर्ने र विरोध गर्ने अधिकार रहेको स्मरण गराउँदै त्यही अधिकारमा विश्वास गरेर युवाहरू सडकमा आएको बताएकी छन्।
तर राज्यसँग सुरक्षा संयन्त्र, तयारी गर्ने पर्याप्त अवसर र भीड नियन्त्रणका कम घातक विकल्प हुँदाहुँदै पनि सडकमा गोली चलाइएको उनको भनाइ छ। त्यस क्रममा कलिला युवाहरूले ज्यान गुमाउनुपरेको उनले उल्लेख गरेकी छन्।
‘आज ठीक एक वर्ष भयो। आजको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो,’ गौतमले भनेकी छन्।
उनका अनुसार जेनजी आन्दोलनमा सडकमा पोखिएको रगत बिर्सन नहुने र त्यसबाट राज्य सञ्चालनमा सुधारको बाटो तय गर्नुपर्ने आवश्यकता छ। आन्दोलनमा ज्यान गुमाएका युवाहरूको बलिदान भविष्यमा यस्ता घटना दोहोरिन नदिने प्रतिबद्धताको आधार बन्नुपर्ने उनको भनाइ छ।
गौतमले राज्यसँग शक्ति जति ठूलो हुन्छ, त्यति नै ठूलो संयम र जवाफदेहिता आवश्यक हुने बताएकी छन्। भीड नियन्त्रणको नाममा नागरिकको जीवन समाप्त गर्ने अवस्था दोहोरिन नहुनेमा उनले जोड दिएकी छन्।
जेनजी आन्दोलनको बलिदानलाई केवल इतिहासको घटनाका रूपमा सीमित नगरी त्यसबाट राज्यले पाठ सिक्नुपर्ने बताउँदै उनले उक्त बलिदानले भविष्यका सरकारलाई आफ्नो मर्यादा, सीमा र जिम्मेवारी सम्झाइरहनुपर्ने धारणा व्यक्त गरेकी छन्।
‘त्यो दिन सडकमा पोखिएको रगत हाम्रो स्मृतिबाट मेटिने छैन। त्यो ठूलो क्षति राज्य सुधारको आधार बनोस्,’ गौतमले भनेकी छन्।




प्रतिक्रिया