दुई तिहाइ बहुमतले मात्र स्थायित्व आउँदैन, सुशासन र शासकको चरित्र परिर्वतन हुनुपर्छ: सुशीला कार्की


काठमाडौ । पूर्वप्रधानमन्त्री सुशीला कार्कीले सुशासनबिना संसद्को दुई तिहाइ बहुमतले समेत राजनीतिक स्थिरता दिन नसक्ने सन्देश जेनजी आन्दोलनले दिएको बताएकी छन्।

जेनजी आन्दोलनको एक वर्ष पूरा भएको अवसरमा मंगलबार सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै कार्कीले राजनीतिक स्थायित्व संसदीय अंकगणितले मात्र निर्धारण नगर्ने बताइन्।

उनका अनुसार शासकको चरित्र र कार्यशैलीले राजनीतिक स्थायित्वमा महत्वपूर्ण भूमिका खेल्छ। कार्कीले सुशासन, भ्रष्टाचार नियन्त्रण, विधिको शासन, जवाफदेहिता, पारदर्शिता र नागरिकको सम्मान सुनिश्चित गर्न सरकारले प्रभावकारी रूपमा काम गर्नुपर्नेमा जोड दिएकी छन्।

उनले जेनजी आन्दोलनका क्रममा भएको जनधनको क्षति र त्यसबाट सिर्जित पीडालाई स्मरण गर्दै यस्ता घटना फेरि दोहोरिन नदिन सबै पक्ष जिम्मेवार र सचेत हुनुपर्ने बताइन्।

आन्दोलनका क्रममा सुशासन, जवाफदेहिता, पारदर्शिता र उज्ज्वल भविष्यको माग गर्दै युवाले सडक तथा डिजिटल माध्यमबाट आवाज उठाएको उल्लेख गर्दै कार्कीले उक्त आवाज दबाउने क्रममा निर्दोष युवाको ज्यान गएको र कैयौँ युवा गम्भीर रूपमा घाइते भएको बताएकी छन्।

उनका अनुसार आन्दोलनका क्रममा निजी तथा सार्वजनिक सम्पत्तिमा ठूलो क्षति पुग्नुका साथै राष्ट्रिय सम्पदा तथा धरोहरसमेत गुमेका छन्। राष्ट्रको जीवनमा लागेको उक्त घाउ लामो समयसम्म रहने उनको भनाइ छ।

कार्कीले सुशासन र परिवर्तनका लागि जनता फेरि सडकमा आउनुपर्ने अवस्था सिर्जना हुन नदिन राज्यका सबै निकाय र राजनीतिक नेतृत्वले इमानदार, जिम्मेवार र चनाखो भएर आफ्नो कर्तव्य पूरा गर्नुपर्ने बताएकी छन्।

जेनजी आन्दोलनबाट भएको क्षतिको एक वर्ष नपुग्दै मुलुक भोटेकोशी बाढीको पीडाबाट गुज्रिरहेको उल्लेख गर्दै उनले विपद्को समयमा सबैलाई धैर्य, जिम्मेवारी र एकताका साथ अघि बढ्न आह्वान गरेकी छन्।

उनले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेकी छन्।