काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जेनजी आन्दोलन कुनै राजनीतिक दल वा नेताको संकुचित राजनीतिक लाभको औजार बन्न नहुने बताएका छन्।
जेनजी आन्दोलनको एक वर्ष पूरा भएको अवसरमा आज एक वक्तव्य जारी गर्दै लामिछानेले यस्ताे बताएका हुन् । लामिछानेले जेनजी आन्दोलन कुनै दल विशेषको आह्वानमा नभई पूर्णतः स्वस्फूर्त जागरणका रूपमा भएको दाबी गरेका छन्।
‘यो कुनै दल विशेषको आह्वानमा भएको आन्दोलन थिएन; यो पूर्णतः स्वस्फूर्त जागरण थियो। त्यसैले, कुनै पनि राजनीतिक दल वा नेताले यसलाई आफ्नो सङ्कुचित राजनीतिक लाभको औजार बनाउने दुस्साहस गर्नु हुँदैन,’ उनले भनेका छन्।
वर्षौंदेखि जरा गाडेर बसेको भ्रष्टाचार, दलीय भागबन्डा, संस्थागत अक्षमता, नागरिकका मौलिक अधिकारमाथिको नियन्त्रण र अवसरविहीनताबाट सिर्जित निराशाविरुद्ध सचेत युवा पुस्ता शान्तिपूर्ण रूपमा सडकमा उत्रिएको उनको भनाइ छ।
उनले जेनजी आन्दोलनले डिजिटल युगमा हुर्किएको, विश्वव्यापी चेतना बोकेको, स्वाभिमानी र आफ्नै देशभित्र भविष्य खोज्ने पुस्ता अब कुशासन स्वीकार गर्न तयार नरहेको सन्देश दिएको बताएका छन्।
आन्दोलनका क्रममा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै लामिछानेले भदौ २३ र २४ गतेको घटना फेरि कहिल्यै दोहोरिन नहुने बताएका छन्। परिवर्तनका लागि अब कुनै पनि आमाको काख रित्तिन नपरोस् भन्ने कामनासमेत उनले गरेका छन्।
नागरिक अधिकार, विधिको शासन र भ्रष्टाचारमुक्त समाजको माग गर्दै ज्यान गुमाएका जेनजी सहिद तथा कर्तव्यपालनका क्रममा ज्यान गुमाएका प्रहरीप्रति लामिछानेले श्रद्धाञ्जली व्यक्त गरेका छन्।
आन्दोलनका क्रममा अङ्गभङ्ग तथा घाइते भएकाहरूको उचित उपचार र दीर्घकालीन पुनर्स्थापनाको जिम्मेवारी राज्यले पूरा गर्नुपर्नेमा पनि उनले जोड दिएका छन्।
लामिछानेले जेनजी आन्दोलनले सडकबाट उठाएका प्रश्नको जवाफ दिने ठाउँमा अहिले राजनीतिक नेतृत्व आइपुगेको बताएका छन्। तर, आफूहरूसँग पनि भविष्यमा जवाफ माग्न नयाँ पुस्ता सडकमा उभिन सक्ने उनको भनाइ छ।
‘हिजो सडकबाट नवयुवाहरूले सोधेका हरेक प्रश्नको जवाफ दिने ठाउँमा समयले आज हामीलाई उभ्याएको छ । र यो पनि सम्झाएको छ, हामीसँग पनि जवाफ माग्न भोलि फेरि कोही उभिनेछ,’ उनले भनेका छन्।
उनले जेनजी आन्दोलनले देखाएको विधिको शासन, समतामूलक समृद्धि र राष्ट्रिय स्वाभिमानको मार्गबाट रास्वपा विचलित नहुने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।
‘जागरणको त्यो आँधीले कोरेको विधिको शासन, समतामूलक समृद्धि र राष्ट्रिय स्वाभिमानको मार्गबाट हामी एक इन्च पनि विचलित हुने छैनौँ,’ लामिछानेले भनेका छन्।




प्रतिक्रिया