काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले जेनजी आन्दोलनका शहीदहरूको बलिदान खेर जान नदिने बताएका छन् ।
जेनजी शहीद दिवसका अवसरमा आज जेनजी शहीद कल्याणकारी समाजले आयोजना गरेको कार्यक्रममा बोल्दै सांसद उनले यस्तो बताएका हुन् ।
सुशासनको पक्षमा आवाज उठाउँदा ज्यान गुमाएका शहीदहरूको बलिदानबाट देशमा नयाँ सुशासनको आधार तयार भएको उनले बताए ।
उनले वर्तमान सरकार भ्रष्टाचारविरुद्ध कठोर रूपमा प्रस्तुत हुने बताए । ‘चाहे पूर्व हुन्, चाहे बहालवाला हुन्, चाहे हिजोका हुन्, चाहे आजका हुन्, जसले १ रुपैयाँ पनि भ्रष्टाचार गरेको छ, प्रत्येकको कठालो समातेर कारबाही हुनेछ । सबै ठाउँमा हुनेछ, हिसाब हुनेछ, एक–एक गनेर हिसाब हुनेछ,’ उनले भने ।
शहीदका परिवार निराश नहुन आग्रह गर्दै उनले शहीदको बलिदानले नयाँ सुशासनको ‘वृक्ष’ उम्रिएको बताए । ‘तिम्रो छोरो ढल्यो, यो देश उठ्यो । तिम्रो छोरोले गोली खायो र यो देशले सिटामोलको गोली खान पाएको हो,’ उनले भने ।




प्रतिक्रिया