काठमाडौं, भदौ २४ । अमेरिकाले इरानी तेल ट्यांकरमाथि आक्रमण गरेपछि इरानले जोर्डनस्थित अमेरिकी सैन्य बेसलाई लक्षित गर्दै क्षेप्यास्त्र प्रहार गरेको छ । अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम) का अनुसार इरानले पछिल्लो दुई दिनमा अमेरिकी युद्धपोतलाई दुई पटक निशाना बनाएपछि जवाफी कारबाहीस्वरूप पाँचवटा इरानी तेल ट्यांकरमाथि आक्रमण गरिएको हो ।
सेन्टकमका अनुसार ओमानको खाडीमा इरानको इस्लामिक रिभोलुसनरी गाड्र्स कोर (आईआरजीसी)सँग सम्बन्धित चारवटा तेल ट्यांकर र इरानको प्रमुख तेल निर्यात केन्द्र खार्ग द्वीपनजिकै रहेको अर्को ट्यांकरलाई निशाना बनाइएको थियो ।
अमेरिकी आक्रमणपछि इरानले जोर्डनस्थित अमेरिकी बेसतर्फ २० वटा क्षेप्यास्त्र प्रहार गरेको थियो । जोर्डनले तीमध्ये १८ वटा क्षेप्यास्त्र आफ्नो हवाई प्रतिरक्षा प्रणालीमार्फत खसालेको जनाएको छ। बाँकी दुई क्षेप्यास्त्र भने मानव बस्ती नभएका क्षेत्रमा खसेको जोर्डनका सशस्त्र सेनाका प्रवक्ताले बताएका छन्।
पछिल्लो एक सातायता अमेरिका र इरानबीच एकअर्काविरुद्धका सैन्य कारबाही तीव्र बनेका छन्। गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि आक्रमण सुरु गरेपछि दुई देशबीचको तनाव थप चर्किएको हो।
तनाव बढेसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यसमेत उकालो लागेको छ। एसियाली बजारको प्रारम्भिक कारोबारमा ब्रेन्ट कच्चा तेलको मूल्य १.५ प्रतिशतले बढेर प्रतिब्यारेल ९९.४१ डलर पुगेको छ भने अमेरिकी कच्चा तेलको मूल्य १.६ प्रतिशतले बढेर ९४.५५ डलर पुगेको छ।
इरानले थप जवाफी आक्रमण गर्ने चेतावनीसमेत दिएको छ। कुवेत र बहराइनका बन्दरगाहनजिक रहेका अमेरिकासँग सम्बन्धित तेल ट्यांकरका चालक दललाई तत्काल जहाज छाड्न इरानले चेतावनी दिएको छ।
यसअघि इरानले अमेरिकी युद्धपोतलाई ब्यालिस्टिक क्षेप्यास्त्रबाट निशाना बनाएको थियो। सेन्टकमका अनुसार अमेरिकी युद्धपोत ती क्षेप्यास्त्रबाट जोगिएको थियो र घटनामा कुनै अमेरिकी सैनिक घाइते भएका छैनन्।
अमेरिकाले आफूले निशाना बनाएका पाँचवटा इरानी तेल ट्यांकर आईआरजीसी र उसका क्षेत्रीय सहयोगीलाई आर्थिक सहयोग गर्ने अर्बौं डलरको ‘छाया सञ्जाल’को हिस्सा रहेको दाबी गरेको छ। इरानको प्रमुख तेल निर्यात केन्द्र खार्ग द्वीपमा मुलुकको करिब ९० प्रतिशत कच्चा तेलको निर्यात हुने गर्छ।




प्रतिक्रिया