बाढीपछि खोजी तथा उद्धार कार्यले अझै अपेक्षित गति लिन सकेन : प्रमुख सचेतक थापा


काठमाडौँ । नेपाली कांग्रेसकी प्रमुख सचेतक वासना थापाले रसुवामा आएको बाढीपछि खोजी तथा उद्धार कार्यले अझै अपेक्षित गति लिन नसकेको टिप्पणी गरेकी छन् ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै उनले रसुवा लगायतका जिल्लामा बाढी र पहिरोले पुर्‍याएको क्षति र नागरिकले भोग्नुपरेको कष्टबारे सरकारको गम्भीर ध्यानाकर्षण गराएकी हुन् ।

‘रसुवामा बाढी आएको दुई हप्ताभन्दा बढी भइसकेको छ, तर खोजी तथा उद्धार कार्यले अझै अपेक्षित गति लिन सकेको छैन। पीडित परिवारबाट लगातार गुनासो आइरहेको छ,’ उनले भनिन् ।

उनले यो केवल प्राकृतिक विपत्ति मात्र नभएर सयौँ परिवारको जीवनसँग जोडिएको राष्ट्रिय सङ्कट भएको उल्लेख गरिन् । रसुवा, दैलेख लगायतका जिल्लामा अझै धेरै नागरिक सम्पर्कविहीन रहेको भन्दै उनले भनिन्– ‘कर्णाली र दैलेखका थुप्रै नागरिक अझै सम्पर्कविहीन हुनुहुन्छ। कैयौँ परिवार लालपुर्जाविहीन भएर घरबारविहीन अवस्थामा बस्न बाध्य छन्।’