संसदमा रविको सम्बोधन- चोटमा परेका व्यक्तिले भगवानलाई त सराप्छ, सरकार र रास्वपा के हो ?


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले शोकको घडीमा नागरिकबाट राज्यमाथि पोखिएको आक्रोशलाई स्वभाविक रुपमा लिनुपर्ने बताएका छन् ।

बुधबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने क्रममा उनले नागरिकबाट राज्यमाथि पोखिएको आक्रोशलाई स्वभाविक रुपमालिनका लागि राज्य संयन्त्र र पार्टी पंक्तिलाई आग्रह गरेका हुन् ।

आशा निराशामा बदलिँदा उत्पन्न हुने आक्रोश उनीहरूको नेसर्गिक अधिकार भएको उनले बताए । ‘जब मानिस गहिरो चोटमा पर्छ, उसले अप्रत्याशित शोक भोग्छ । उसले भगवानलाई त सराप्छ भने यो सरकार के हो ? रास्वपा के हो ?,’ उनले भने ।

नागरिकको त्यो आक्रोशलाई प्रहारको रुपमा बुझ्न नहुने उनको भनाइ छ ।

नागरिकको त्यो आक्रोशलाई हामीले हाम्रो विरुद्धको प्रहार होइन, हामीप्रतिको अपेक्षा, राज्य गुहार्ने अन्तिम चित्कारको रुपमा बुझ्नुपर्छ । त्यो आक्रोश सुन्ने, सहने र उनीहरूको आँशु पुछ्ने फराकिलो छाती नै आजको साँचो राज्यसत्ता हो,’ लामिछानेले भने ।