काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन आगामी सेप्टेम्बर २३ मा अमेरिकाको न्यूयोर्क पुग्दै छन्। उनले सेप्टेम्बर २४ मा महासभाको उच्चस्तरीय ‘जनरल डिबेट’लाई सम्बोधन गर्ने कार्यक्रम तय भएको परराष्ट मन्त्रालयले जनाएको छ । महासभाको उच्चस्तरीय छलफल सेप्टेम्बर २२ देखि २८ सम्म न्यूयोर्कमा हुँदैछ।
बालेन प्रधानमन्त्री बनेपछि यो पहिलो विदेश भ्रमण हुनेछ। यसअघि सरकारको प्रारम्भिक तयारी भने परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा प्रतिनिधिमण्डल पठाउने थियो। तर भोटेकोशी–त्रिशूली क्षेत्रमा भदौ १० गते आएको विनाशकारी बाढीपछि नेपालले जलवायु न्याय, विपद् क्षति र अन्तर्राष्ट्रिय सहयोगको विषय विश्वमञ्चमा प्रधानमन्त्रीकै तहबाट उठाउनुपर्ने दबाब बढेपछि बालेन स्वयं न्यूयोर्क जाने भएका हुन् ।
प्रधानमन्त्री शाह सेप्टेम्बर २३ मा न्यूयोर्क पुगेर २४ मा सम्बोधन गर्ने र २५ तारिखमै नेपाल फर्किने तयारीमा छन्। यद्यपि मन्त्रिपरिषद्ले स्वीकृत गरेको औपचारिक भ्रमण अवधि सेप्टेम्बर २२ देखि २६ सम्म रहेको छ।
को–को जाँदैछन् प्रधानमन्त्री बालेनसँग ?
नेपालबाट महासभामा १५ सदस्यीय टोली जाने तयारी छ। प्रधानमन्त्री शाहको टोलीमा परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेन, परराष्ट्र सचिव अमृतबहादुर राईलगायत परराष्ट्र मन्त्रालय, प्रधानमन्त्रीको सचिवालय तथा सुरक्षा निकायका अधिकारीहरू रहनेछन्।
तर प्रधानमन्त्री र परराष्ट्रमन्त्री एकै समयमा न्यूयोर्क पुग्ने छैनन्। परराष्ट्रमन्त्री खनाल सेप्टेम्बर २१ मै न्यूयोर्क पुग्नेछन् भने प्रधानमन्त्री शाह २३ तारिखमा पुग्नेछन्। खनालले महासभापछि थप उच्चस्तरीय बैठक तथा साइडलाइन भेटवार्तामा सहभागी भएर सेप्टेम्बर २८ मा नेपाल फर्किने कार्यक्रम छ।
बालेनको सम्बोधनको मुख्य एजेन्डा
यसपटक प्रधानमन्त्री बालेनले परम्परागत रूपमा नेपालले उठाउँदै आएको शान्ति, विकास र बहुपक्षीय सहकार्यका विषयसँगै जलवायु परिवर्तन र जलवायु न्यायलाई प्रमुख एजेन्डा बनाउने परराष्ट मन्त्रालय स्रोतले बतायो ।
भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीले नेपालमा जलवायुजन्य विपद्को जोखिम कति गम्भीर बन्दै गएको छ भन्ने देखाएको छ। नेपालले अन्तर्राष्ट्रिय समुदायसँग विपद् पुनर्निर्माण, जलवायु अनुकूलन, हिमाली क्षेत्रको संरक्षण र जलवायु क्षतिका लागि सहयोग तथा न्यायको माग राख्ने तयारी बालेनको छ।
यसका अतिरिक्त बालेन सरकारले अघि सारेका जेनजी आन्दोलनपछि आएको राजनीतिक परिवर्तन, नयाँ सरकारको जनादेश र सुशासनका प्राथमिकता पनि अन्तर्राष्ट्रिय समुदायसामु प्रस्तुत गर्ने अवसर पाउनेछन्। परराष्ट्र सचिव अमृतबहादुर राईले पनि महासभा नेपालको जेनजी आन्दोलन, त्यसपछिको निर्वाचन र वर्तमान सरकारका प्राथमिकता विश्वसामु प्रस्तुत गर्ने महत्वपूर्ण अवसर हुने बताएका छन्।
रास्ट्रपति ट्रम्पसँग होला त भेट ?
प्रधानमन्त्री बालेनको अमेरिका भ्रमण तय भएसँगै सबैभन्दा बढी चासोको विषयका रूपमा अमेरिकी रास्ट्रपति डोनाल्ड ट्र्म्पसँग भेट होला कि नहोला भन्ने छ । अहिलेसम्म प्रधानमन्त्री बालेन शाह र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच भेटवार्ता तय नभएको परराष्ट स्रोत बताउँछ । न्यूयोर्कमा विश्वका दर्जनौँ राष्ट्रप्रमुख तथा सरकारप्रमुख उपस्थित हुने भएकाले ‘साइडलाइन’ भेटवार्ताको सम्भावना भने स्वाभाविक रूपमा रहनेछ ।
यद्यपि बालेन प्रधानमन्त्री बनेपछि अमेरिकासँगको सम्बन्धमा उच्चस्तरीय सम्पर्क भने भइसकेको छ। अमेरिकी सहायक विदेशमन्त्री एस. पाउल कपुर नेपाल आएर परराष्ट्रमन्त्री शिशिर खनाल र अर्थमन्त्री स्वर्णिम वाग्लेसँग भेटवार्ता गरिसकेका छन् । त्यसैले बालेन सरकारसँग वासिङ्टनको संवादको आधार भने कमजोर नभएको राजनीति वृत्तमा चर्चा छ ।




प्रतिक्रिया